काठमाडौं । प्योर ईभीको सफलतासँगै नेपाली बजारमा हाइब्रिड कार पनि आउने भएको छ । चीनमा कार निर्माताको प्राथमिकतामा हाइब्रिड मोडल परेसँगै नेपालमा पनि हाइब्रिड कारहरू आउने भएका हुन् ।
बीवाइडी र ओमोडा/जेको ब्राण्डका हाइब्रिड कारहरू नेपाली बजारमा आउने भएका हुन् । बीवाइडीले हाइटेक विक आयोजना गरेर सार्क पीकअप देखाएको थियो । साइमेक्स इंकले त्यति बेला नै सार्क पीकअपको बुकिङ लिइसकेको छ । त्यसैले बजेट लगत्तै सार्क पीकअप नेपाल आउने भएको हो ।
ओमोडा/जेको ब्राण्डमा पनि दुई मोडल हाइब्रिडमा नेपाल आउने भएको छ । ओमोडा ब्राण्डमा सी-सेभेन र जेको ब्राण्डमा जे-सेभेन मोडललाई नेपाल ल्याउने भएको हो । यी दुवै मोडल चीनमा बिक्री हुँदै आएको छ ।
सरकारले हाइब्रिड कारमा खासै सहुलियत दिएको छैन । ईभीको अनुपातमा हाइब्रिडमा निकै कम सुविधा भएको कारण व्यापारीहरूले पनि हाइब्रिड मोडल ल्याउन चासो देखाएका थिएनन् । तर, विस्तारै विश्व बजारमा हाइब्रिडको माग उच्च बन्दै जाँदा नेपालमा पनि हाइब्रिड मोडल ल्याउन लागिएको हो ।
यसअघि नेपाली बजारमा चिनियाँ ब्राण्डका कुनै पनि हाइब्रिड मोडल उपलब्ध भएको छैनन् । जापानी ब्राण्ड टोयोटा, मित्शुबिसी, निसान र कोरियन ब्राण्ड कियाले भने हाइब्रिड मोडल ल्याएका छन् ।
बीवाइडी सार्क पीकअप
बीवाइडीले फोर वाई फोर सिस्टम सहितको सार्क पीकअपको साथ हाइब्रिड मोडल नेपाल ल्याउन लागेको हो ।
बीवाइडी सार्कमा ड्युल मोटर सेटअप छ । यसको अगाडि १७० किलोवाटको मोटर छ । यसले ३१० न्यूटन मिटर टर्क प्रदान गर्छ । रियर ह्वीलमा १५० किलोवाटकोे मोटर छ । यसको टर्क ३४० न्युटन मिटर छ । यसको कम्बाइन पावर ३२० किलोवाट छ ।
हाइब्रिड मोडल भएको कारण पीकअपमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन छ । उक्त इन्जिनले ११० पीक पावर दिन्छ । यसको पेट्रोल इन्जिनले फ्रन्ट ह्वील ड्राइभ गर्छ ।
प्लगइन हाइब्रिड टेक्नोलोजी भएको सार्क पीकअपमा २९.५८ किलोवाट आवरको ब्याट्री छ । यसको ब्याट्री रेन्ज १०० किलोमिटर रहेको छ । फुल ट्याङकी पेट्रोल र ब्याट्रीको संयुक्त रेन्ज भने ८४० किलोमिटर छ ।
ओमोडा सी-सेभेन
चिनियाँ ब्राण्ड चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडाले सी-सेभेन प्लगइन हाइब्रिड मोडल सार्वजनिक गरेको छ । कम्पनीले १.५ लिटर टर्बो इन्जिनसँग १५० किलोवाटको इलेक्ट्रीक मोटर पनि दिएर सी-सेभेन सार्वजनिक गरेको हो ।
नेपाली बजारमा एसपीजी अटोमोबाइलले ल्याउने ओमोडा/जेको ब्राण्डको पहिलो हाइब्रिड मोडलको रूपमा सी-सेभेन आउन लागेको हो । यसमा रहेको टर्बो चार्ज्ड पेट्रोल इन्जिनले १५६ पीएस पावर प्रदान गर्छ । यसको इलेक्ट्रीक मोटरको पावर भने २०४ पीएस छ ।
टर्कको मामलामा पनि यो हाइब्रिड मोडल निकै अब्बल देखिन्छ । यसको पेट्रोल इन्जिनले २२० एनएम र इलेक्ट्रीक मोटरले ३१० एनएम टर्क प्रदान गर्छ । दुबैको संयुक्त पीकटर्क ५३० न्यूटन मिटर छ ।
यसको ब्याट्री र फुल ट्याङ्की पेट्रोलको कम्बाइन रेन्ज १२०० किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ ।
जेको जे-सेभेन
एसपीजी अटोमोबाइलले ओमोडा सी-सेभेनभन्दा पहिला नेपाल ल्याउने मोडल जे-सेभन हुन सक्छ । किन भने यसको राइट ह्याण्ड ड्राइभ मोडल विकास भइसकेको छ ।
निकै मोर्डन डिजाइन र फिचरले भरिपूर्ण रहने जेको जे-७ अन्तर्राष्ट्रिय बजारमा चाँडै बिक्री सुरू हुनेछ । यस्तोमा नेपालमा बजेट लगत्तै आयात प्रक्रिया सुरू हुने अनुमान गर्न सकिन्छ ।
नेपाल आउने प्लगइन हाइब्रिड जे-सेभेनमा १८.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको ब्याट्री मात्रैको रेन्ज ९० किलोमिटर रहेको कम्पनीले जनाएको छ । यसमा इलेक्ट्रीक मोटर १५० किलोवाट क्षमताको छ ।
नयाँ हाइब्रिड मोडलमा १.५ लिटर क्षमताको टर्बो चार्ज्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ५.४ लिटर पेट्रोल खपत गर्दा १०० किलोमिटर दुरी पार गर्न सक्ने कम्पनीको दाबी छ ।