सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा ३०० बढी सहभागी

काठमाडौं । सिप्रदियन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालनमा ल्याइएको छ ।

संस्थाले देशका विभिन्न भू-भागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले उक्त प्रशिक्षण शिविर संचालन गरेको हो ।

हालै पोखरामा संचालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए ।

पहिलो चरणमा धरानबाट सुरू गरिएको प्रशिक्षण शिविर, जनकपुर हुँदै पोखरामा सकिएको छ ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले यो कार्यक्रमले अझै धेरै जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेमा आफूहरू विश्वस्त रहेको बताए ।

‘पोखरामा सहभागीहरूमा देखिएको उत्साहले हामीहरूमा यो प्रशिक्षण शिविरको लागि थप ऊर्जा मिलेको छ। सहभागीहरूसंग अपार सम्भावना छ, तर आवश्यक पूर्वाधार र प्रशिक्षणको अभाव छ। हामी विश्वास गर्छौं कि यो पहलले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्नेछ । यो कार्यक्रमले अझै धेरै जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

पोखरापछि ‘फुटबल फर फ्युचर’ देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब सुर्खेत र धनगढीमा संचालन हुँदैछ ।


Back_to_top