काठमाडौं । अघिल्लो वर्ष असोजमा बगाएको बीपी राजमार्गको केही स्थानमा बनेको डाइभर्सन हिजोको पानीले बगाएको छ । हिजो परेको अविरल वर्षाले चौकीडाँडा-नेपालथोक खण्डमा डाइभर्स बगाएको हो ।
चार किलोमिटरभन्दा बढी डाइभर्सन रोशी खोलामा आएको बाढीले बगाएको हो । काभ्रे चौकीडाँडादेखि बर्खेखोलासम्मको विभिन्न १६ स्थानमा डाइभर्सन बगाएको कारण अब एकसातासम्म बनाउन लाग्ने अनुमान गरिएको छ ।
नेपालथोकसम्मका अन्य तीन स्थानमा पनि डाइर्भसन बगाएको डिभिजन सडक कार्यालय खाल्टेले जनाएको छ ।
अहिले पनि रोशी खोलामा बाढीको सतह कम नभएकाले डाइभर्सन बगेको ठाउँमा पुनर्निर्माणको काम सुरु हुन नसकेको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
बीपी राजमार्ग पुननिर्माणका लागि दुई खण्डमा ठेक्का लागेको छ । निर्माण ब्यवसायीको इक्यूपमेन्ट पनि कार्य स्थलमा नै भएको कारण बीपी राजमार्ग चाँडै खुलाउन सकिने डिभिजन सडक कार्यालयको भनाइ छ ।
गत वर्ष बाढीले बगाएको बीपी राजमार्गलाई काभ्रे जिल्लामा चार खण्डमा विभाजन गरेर पुननिर्माणको तयारी थालिएको छ ।

