विश्वका १० मूल्यवान कार कम्पनी, भारतीयको पहिलो पटक इन्ट्री

काठमाडौं । बजार मूल्याङ्कनका हिसावले विश्वका १० कम्पनीमा पहिलो पटक इन्डो-जापानी ब्राण्ड मारुती सुजुकी पर्न सफल भएको छ । जापानी र भारतीयको संयुक्त लगानी रहेको मारुती सुजुकीले ठूला १० कम्पनीमा पर्न सफल भएको हो ।

धितोपत्र बजारमा कारोबार हुने कार कम्पनीको सेयर मूल्य अनुसार ठूला १० कम्पनीमा अमेरिकी लग्जरी ब्राण्ड टेस्ला सबैभन्दा माथि छ । टेस्लाको बजार पूँजीकरण १.४७ ट्रिलियन अमेरिकी डलर पुगेको छ । टेस्लाको छेउछाउमा अन्य कुनै पनि ब्राण्ड छैनन् ।

विश्वकै ठूलो कार निर्माता टोयोटा दोस्रो स्थानमा छ । जापानी ब्राण्ड टोयोटाको बजार पूँजीकरण केबल ३१४ बिलियन अमेरिकी डलर बराबर छ । जुन टेस्लाकोभन्दा १.१५ ट्रिलियन डलर बढीले कम हो ।

तेस्रो स्थानमा चिनियाँ ब्राण्ड साओमी पर्न सफल भएको छ । चिनियाँ टेक जाइन्ट साओमीले २० महिनादेखि मात्रै कार उत्पादन थालेको हो । यस्तोमा ठूला कार निर्माताको सूचीमा पर्न सफल भएको छ । साओमीको बजार पूँजीकरण १७४.८ बिलियन डलर छ ।

सूचीको चौथो स्थानमा पनि चिनियाँ ब्राण्ड नै छ । न्यू इनर्जी भेहिकलमा बलियो बन्दै गएको बीवाइडीको बजार पूँजीकरण १३३ बिलियन अमेरिकी डलर पुगेको छ ।

माथिका चार कम्पनी बाहेक अन्य कसैको पनि बजार पूँजीकरण १०० विलियन डलर माथि छैन । पाँचौ स्थानमा रहेको इटालियन कम्पनी फेरारीको बजार पूँजीकरण ९२.७ बिलियन डलर छ ।

दुई जर्मन लग्जरी ब्राण्ड बीएमडब्लू र मर्सिडिज क्रमशः छैटौ र सातौं स्थानमा छन् । बीएमडब्लूको बजार पूँजीकरण ६१.३ बिलियन डलर छ भने मर्सिडिज बेन्जको ५९.८ बिलियन डलर छ ।

सूचीको आठौं स्थानमा जापानी ब्राण्ड होन्डा रहेको छ । होन्डाको बजार पूँजीकरण ५९ बिलियन डलर छ । पहिलो पटक टप १० ब्राण्डको सूचीमा अटाएको मारुती सुजुकीको बजार पूँजीकरण ५७.६ बिलियन डलरसहित नवौं स्थानमा परेको छ ।

अमेरिकी कम्पनी जनरल मोटर्सको बजार पूँजीकरण ५७.१ बिलियन डलर छ । जीएम मोटर्स सूचीको १० औं स्थानमा परेको हो ।


Back_to_top