एउटै इन्जिन भएका ४ फरक मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्प विश्वकै धेरै मोटरसाइकल उत्पादन गर्ने ब्राण्ड हो । विशेषत धेरै संख्यासँगै कम मूल्यका मोटरसाइकल र स्कुटरमा हिरोको बाहुल्यता रहेको छ ।

अहिले हिरोले आधुनिक डिजाइन ल्याङ्वेजलाई अंगिकार गर्दै नयाँ नयाँ मोडल बजारमा ल्याइरहेको छ । कम्पनीले २०० सीसी सेग्मेन्टमा अहिले निकै राम्रो ब्यापार गरिरहेको छ ।

नेपालमा विक्री हुने हिरोका मोटरसाइकल एक्सट्रीम २०० आर, एक्सट्रीम २०० एस, एक्सपल्स २०० र एक्सपल्स २०० फोर भीमा एउटै इन्जिनमा बनाएको हो । यी मध्ये एक्सपल्स सिरिज नेपालमा निकै सफल मानिन्छ ।

हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले यी मोटरसाइकलको मूल्य २ लाख ९५ हजारदेखि ४ लाख ५० हजारसम्म मूल्य तोकेर विक्री गर्दै आएको छ ।

हिरोले नेकेड मोटरसाइकल मनपराउनेहरुलाई एक्सट्रीम २०० आर मोडल विक्री गर्दै आएको छ । यसको मूल्य २ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । एक्सट्रीम २०० एस मोडल पनि नेपाल ल्याएको थियो तर, त्यसले राम्रो ब्यापार गर्न छाडेपछि यसको विक्री बन्द भएको छ ।

त्यसैगरी, एड्भेन्चर (डबल स्पोर्ट) मोटरसाइकल चाहनेहरुको लागि हिरोले एक्सपल्स २०० र एक्सपल्स २०० फोर भी मोडल बजारमा ल्याएर विक्री गर्दै आएको । साथै, समान इन्जिनमा एक्सपल्स २०० टी मोडल पनि बजारमा उपलब्ध रहेको छ ।

एक्सपल्स २०० टी क्लासिक रेट्रो लुक्समा तयार भएको मोटरसाइकल हो । क्लासिक डिजाइनका पारखीलाई यसले आकर्षित गर्नेछ । यो मोडलको बजार मूल्य ३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

हिरोले नेपालमा सर्वाधिक विक्री गरेको २०० सीसीको मोटरसाइकल एक्सपल्स २०० हो । एड्भेन्चर डिजाइन, मस्कुलर बडी, आकर्षक कलर र मूल्यको कारण एक्सपल्स २०० नेपालमा सफल भएको हो । कम्पनीले यसको मूल्य ४ लाख ३ हजार ५०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

कम्पनीको लेटेष्ट र अहिले चर्चामा रहेको मोडल एक्सपल्सको फोर भी मोडल हो । लामो यात्रा गर्नेलाई ध्यानमा राखेर ल्याइएको यो मोडल बजारमा पाउनै मुस्किल रहेको छ । नेपालमा विक्री सुरु गरेदखि नै सधैँ सोल्ड आउट रहेको एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यी सबै इन्जिनमा १९९ सीसी क्षमताको इन्जिन दिइएको छ । कम्पनीले मोडल अनुसार इन्जिनलाई केही ट्यूनिङ गरेर पावर प्रदान गरेको छ । अहिलेसम्म बजारमा आएका यी मोडल मध्ये सबैभन्दा बढी पावर एक्सपल्स २०० फोर भीमा छ भने अन्य सबै मोडलमा लगभग उस्तै पावर रहेको छ । यो इन्जिनले अधिकतम १८ देखि १९ पीएस पावर प्रदान गर्छ ।

 


Back_to_top