काठमाडौं । एकपछि अर्को ठूलो क्षमताको चार्जिङ स्टेशन निर्माण सुरू भएको छ । एयर चार्जड कम्पनीले ४०० किलोवाट क्षमताको डीसी चार्जिङ स्टेशन निर्माण गरेको हो ।
एयर चार्जडले देशका विभिन्न १२ स्थानमा डीसी फास्ट चार्जर निर्माण गरेको जनाएको छ । कम्पनीले सीसीएस-टु र जीबीटी दुवै किसिमका गनहरू दिएर चार्जिङ स्टेशन निर्माण गरेको हो ।
‘नेपालमा रेन्ज एन्जाइटीभन्दा चार्जिङ एन्जाइटी धेरै देखिएको छ । त्यसलाई हटाउन सकियोस् भनेर चार्जिङ स्टेशन निर्माण गरेका हौं । यसमा दातृ निकायको सहयोग पनि छ । चार्जिङका अलावा अन्य सेवा पनि दिनेगरी चार्जिङ स्टेशन निर्माण गरेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक विधान शर्माले मेरोअटोसँग भने ।
कम्पनीले अहिले उपत्यकाका तीन स्थानमा चार्जिङ स्टेशन निर्माण गरेको छ । एउटा चार्जिङ स्टेशनले एकपटकमा १५ वटा गाडीमा चार्जिङ सुविधा उपलब्ध गराउने जनाएको छ । जहाँ १० वटा डीसी चार्जर गन छन् । कम्पनीले ५ वटा एसी फास्ट चार्जर जडान गरेको छ ।
डीसी चार्जर ४०० किलोवाटसम्मको रहने छ । एसी चार्जर भने २२ किलोवाटको हुन्छ । यी दुवै किसिमका चार्जर सीसीएस–टु र जीबीटी गनमा उपलब्ध हुनेछ ।
शुल्क प्राधिकरणको जस्तै
निजी क्षेत्रले बनाएको चार्जरहरू महँगो शुल्क लाग्ने भएको कारण धेरै सार्वजनिक यातायात संचालकहरूको रोजाइमा प्राधिकरणको चार्जर पर्ने गरेको छ । त्यसैले कम्पनीले पनि त्यही रेटमा प्रतियुनिट विद्युत बिक्री गर्नेछ ।
‘ईआइ’ नामक एप बनाएर उपभोक्तालाई उपलब्ध गराएको कम्पनीले चार्जर बुक गर्ने सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।
‘हामीले चार्जर बुक गर्नेदेखि कतिवटा गाडी वेटिङमा छ भन्ने जानकारी पनि एप मार्फत नै दिन्छौं । जसले चालकलाई आफ्नो पालो कतिबेला आउँछ भन्ने एकिन गर्न सजिलो होस् भन्ने हाम्रो चाहना हो,’ प्रबन्ध निर्देशक शर्माले भने ।
के-के पाइन्छ अन्य सुविधा ?
यस चार्जिङ स्टेशनमा गाडी चार्जिङको अलावा रेष्ट गर्ने बेड, क्यान्टिन, क्याफे, कार वास, एशोसरिज जस्ता सुविधा उपलब्ध हुनेछ ।
१ वर्ष भित्र ५०० गन
कम्पनीले आगामी आर्थिक वर्षको अन्तिमसम्ममा ५०० चार्जिङ गन पुर्याउने लक्ष्य लिएको छ । यस आर्थिक वर्षमा २०० गन संचालनमा रहने छन् । १ वर्ष भित्र थप ३०० गन थप्ने कम्पनीले योजना बनाएको छ ।
कहाँ कहाँ चल्दैन् ?
अहिले काठमाडौंको सामाखुसी, सातदोबाटो, सल्लाघारीमा चार्जिङ सेन्टर संचालनमा आएको छ । त्यस्तै बीपी हाइवेको सिन्धुलीमा पनि संचालनमा आएको छ ।
कुरिनटार, चितवन, बर्दिवास, इटहरी, दमकमा पनि चार्जिङ सेन्टर बनेका छन् । नुवाकोट र सुदूरपश्चिम प्रदेशको अत्तरियामा पनि चार्जर जडान भएको छ । छिट्टै कावासोती र सुर्खेतमा पनि संचालनमा ल्याउने कम्पनीको भनाइ छ ।