के हो ‘इआरईभी’ प्रविधि, यसले कसरी गर्छ काम ?

काठमाडौं । इलेक्ट्रीक भेहिकलको विकासँगै कारमा प्रयोग हुने टेक्नोलोजीमा ब्यापक परिवर्तन आएको छ । कार निर्माताहरुले बजार माग अनुसार हाइब्रिड, प्लगइन हाइब्रिड वा फुल्ली इलेक्ट्रीक भेहिकल उत्पादनमा जोड दिएका छन् ।

पछिल्लो समय इलेक्ट्रीक भेहिकलमा नयाँ प्रविधिको प्रयोग व्यापक रुपमा बढेको छ । एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (इआरईभी) प्रविधि अहिले धेरै चर्चामा रहेको नयाँ विषय हो । हाम्रो बुझाईमा इआरईभी विशेषत चीनमा सबैभन्दा धेरै विस्तार भएको छ ।

इआरईभीमा इन्जिनले गाडी गुडाउँदैन । यसमा गाडीको चक्का इलेक्ट्रीक मोटरले मात्र गुडाउछ । प्लगइन हाइब्रिड वा ईभीमा जस्तै यसमा रहेको ब्याट्रीलाई विजुलीमा जोडर चार्ज गर्नु पर्दैन । यसमा रहेको इन्जिनले ब्याट्री चार्ज गर्न जेनेरेटरको काम गर्छ । त्यसैले यसको इन्जिनले कम इन्धन खपत गर्छ । कम्पनीहरुको दावी मान्ने हो भने २.५ देखि ३ लिटर पेट्रोलले १०० किलोमिटर यात्रा गर्न इआरईभी सक्षम छन् ।

इआरईभी चढ्नेले प्लगइन हाइब्रिडमा जस्तै पेट्रोल पम्पमा गएर पेट्रोल हाल्नुपर्छ । सन् २०२४ मा चीनमा इआरईभीको बिक्री १२ लाख युनिट भएको थियो । यो संख्या अघिल्लो वर्षको भन्दा ८३ प्रतिशतले धेरै हो । सन् २०२४ मा बिक्री भएका इआरईभीमा औषतमा ३९ किलोवाट आवर क्षमताको ब्याट्रीप्याक थियो । यी ब्याट्रीले औषतमा १७० किलोमिटरसम्म रेन्ज दिएका थिए ।

इलेक्ट्रीक भेहिकलको चार्जमा लाग्ने समय र चार्जिङ स्टेशनको सुलभ उपलब्धता नहुने भएकोले इआरईभीको माग बढ्दो देखिन्छ ।


Back_to_top