काठमाडौं । अत्याधुनिक सुविधा सम्पन्न कारमा प्रदान गरिने विशेषता मध्य फोर ह्वील ड्राइभ सिस्टम एक हो । विशेषत, ठूला साइजका एसयूभीमा यो विशेषता दिइएको हुन्छ ।
बजारमा बिक्री भइरहेका थुप्रै एसयूभीमा यो फिचर समेटिएको छ । तर, नेपाली बजारमा सवारीसाधन निकै महंगो भएका कारण एक करोडभन्दा कम मूल्यमा फोर ह्वील ड्राइभ सिस्टम रहेको केही मात्र गाडी रहेका छन् ।
महिन्द्रा थार र स्कर्पियो, हुन्डाई टुसान, रेनो डस्टर र टाटा हेक्जा बजारमा उपलब्ध सबैभन्दा कम मूल्यका फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ ।
महिन्द्रा थार
महिन्द्रा थार एडभेन्चर सफारीका लागि निकै उपयुक्त गाडीको रुपमा लिने गरिन्छ । २५ सय सीसी क्षमताको इन्जिनमा उपलब्ध थारले १०५ बीएच पावरका साथै २४७ एनएम टर्क प्रदान गर्छ । यसमा २०० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

यसको इन्टेरियरमा टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ४ वटा वाटर प्रुफ स्पीकर, न्यू ट्रिपल पोड इन्स्ट्र्युमेन्ट क्लष्टर, एचभीएसी कन्ट्रोल, न्यू गेयर लिभर, न्यू स्टेरिङ हृवील, स्पार्को रेली सिट, रोल ओभर बार लगायतका सुविधा छन् । यसमा ५ स्पीड म्यानुअल गेयर छ ।
नेपाली बजारमा महिन्द्रा थारको मूल्य ४३ लाख १५ हजार रुपैयाँ रहेको छ ।
रेनो डस्टर
फोर ह्वील ड्राइभ सिस्टम भएको रेनो डस्टर नेपालमा बिक्री हुने सबैभन्दा सस्तो मध्यको एक एसयूभी हो ।
सुरक्षाको लागि डबल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल हृवीललगायतका फिचर रहेका छन् ।

यसमा स्टेरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेका छन् ।
यसमा उपलब्ध १.५ डीसीआई इन्जिनले ८५ बीएच पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा यो कारको मूल्य ५९ लाख ९ हजार रहेको छ ।
महिन्द्रा स्कर्पियो
महिन्द्रा स्कर्पियो नेपालमा सर्बाधिक रुचाइने एसयूभी मोडल हो । नेपाली बजारमा टु ह्वील र फोर ह्वील सिस्टममा उपलब्ध स्कर्पियोको मूल्य ७१ लाख २५ हजार रुपैयाँ रहेको छ । यसमा उपलब्ध डिजेल इन्जिनले ४ हजार आरपीएममा १२० एनएम टर्कका साथै १८०० देखि २८०० आरपीएममा २८० एनएम टर्क उत्पादन गर्छ ।

अलोय ह्वील, प्रोजेक्शन हेडल्याम्प, रुफ रेल, युएसबी केबल, अटो एसी, ड्राइभर सिट असिस्ट लगायतका विविध विशेषता यसमा पाउन सकिन्छ ।
हुन्डाई टुसान
पेट्रोल भर्सन अन्र्तगत टुसान फोर ह्वील ड्राइभको सुरुवाति मूल्य ८४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने जिएल अटोमेटिक भेरियन्टको मूल्य ९८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

टुसान पावर, सुविधा तथा लक्जरी खोज्ने ग्राहकको रोजाइनमा पर्ने गरेको छ । टुसानमा आधुनिक डिजाइनको लेडल्याम्प, उत्कृष्ट ह्वील बनोटको कारण चर्चित रहेको छ ।
कम्पनीले यसमा उपलब्ध डिओएचसी इन्जिनले ४ हजार आरपीएममा १८५ हर्ष पावरका साथै १७५०देखि २७५० आरपीएममा ४०० एनएम टर्क उत्पादन गर्छ ।
टाटा हेक्जा
टाटाको चर्चित एसयूभी हेक्जा एक्सटीको मूल्य ९१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यो गाडीमा प्रोजेक्टर हेडल्याम्प, १९ इन्चको अलोय ह्वील, एलइडी टेल ल्याम्प र जेबीएल अडियो सिस्टमका १० स्पीकर लगाइएको छ ।

यसमा उपलब्ध डिजेल इन्जिनले १५६ पीएस पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ । हेक्जा विभिन्न ६ मोडलमा उपलब्ध रहेको छ ।


