काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राखिएका ५ मोडलका गाडी सोल्ड आउट भएका छन् ।
साउन २१ गतेदेखि आजसम्म चलेको मोबिलिटी एक्स्पोमा राखिएका गाडीमध्ये ४ वटा प्यासेन्जर र एउटा कमर्शियल सेग्मेन्टका गाडी सोल्ड आउट भएका हुन्। नाइममा ५० ब्राण्डका सवारी साधन प्रदर्शनी गरिएका थिए ।
नाइममा राखिएका निसानको लिफ, सिट्रोन सीथ्री, ईसीथ्री र लिपमाेटर टी ०३ कार सोल्ड आउट भएका हुन् । त्यस्तै, कमर्शियलतर्फ निसानकाे अर्बान माइक्रोबस सोल्ड आउट भएको हो ।
यी कुनै पनि गाडी अब दशैंअघिसम्म डेलिभरी गर्न नसक्ने अवस्था रहेको बिक्रेताहरूले बताएका छन् ।सोल्ड आउट भएका सबै सवारी साधनमा बिक्रेताले भारी छुट दिएका थिए ।

नाइमामा निसान लिफमा सबैभन्दा धेरै २० लाख रुपैयाँ छुट दिइएको थियो । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ नाइमामा ४४ लाख ९९ हजार रुपैयाँमै दिएको थियो । पायोनियरले अर्बान माइक्रोबसमा पनि भारी छुट दिएको थियो ।

त्यस्तै, लिप मोटरको नेपालका लागि आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले सिट्रोन ईसी-३ मा ६ लाख रुपैयाँ छुट दिएको थियो । कम्पनीले ३४ लाख रुपैयाँमा बेच्दै आएको सीथ्री नाइममा २७ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको थियो ।

त्यसैगरी, सिट्रोन सी थ्रीमा पनि साढे ६ लाख रुपैयाँ छुट दिइएको थियो । साँग्रिला मोटर्सले साढे ३६ लाख रुपैयाँमा बिक्री गर्दै आएको सी थ्री नाइमामा २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको थियो ।

