३ वर्षमा बन्नुपर्ने पुल १४ वर्षमा पनि बनेन, दोस्रो ठेकेदारले पनि रोक्यो काम

काठमाडौं । ४६९ मिटर लामो पक्की पुल बनाउन कति वर्ष लाग्ला ? सामान्यतया नियमित काम गर्ने हो भने बढीमा २/३ वर्ष ।

तर, सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल निर्माण सुरु भएको १४ वर्षसम्म पनि अधुरै रहेको छ । वि.सं. २०६८ मा ३ वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ४६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको हो ।

ठेकेदारको चरम लापारबाही र हेलचक्र्याँइका कारण पुल निर्माणले गति पाउन नसकेको हो । पुल निर्माणको जिम्मा पहिले पप्पु-लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो ।

तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि ८ करोडको बीमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ ।

पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।

सिरहा-६ का प्रवीण यादव भन्छन्, ‘पुल नबन्दा हामी वर्षौँदेखि सास्ती भोग्दै आएका छौँ । अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण छ, तर त्यही बाटो भएर हामी हिँड्न बाध्य छौँ । मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर विकल्प छैन । त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको छ ।’

नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि ५० रुपैयाँसम्म तिर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘पहिले ठेक्का सम्झौताअनुसार २० रुपैयाँ लिइन्थ्यो, अहिले त्यो पनि हटेको भनिए तापनि व्यवहारमा शुल्क झनै बढेको छ । जनतामाथि दोहोरो भार परेको छ एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क असुली ।’


Back_to_top