मिनी रेन्ज रोभर लाग्ने एसयूभीको मासिक किस्ता ५२ हजार

काठमाडौं । मिनी रेन्ज रोभर जस्तै लाग्ने जेको जे-फाइभको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ । यसलाई बैंकबाट कर्जा लिएर किन्ने ग्राहकले ५२ हजार ४४८ रुपैयाँ किस्ता तिर्दा पुग्छ ।

अहिले चलिरहेको नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको कारण यसको डिस्काउन्ट मूल्य ५६ लाख ९९ हजार तोकिएको हो । जबकि कम्पनीले सार्वजनिक गरेको अधिकतम खुद्रा बिक्री मूल्य ६० लाख ९९ हजार रुपैयाँ छ । जारी माेअटो एक्स्पो र आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर ४ लाख रुपैयाँ नगद छुट दिएको हो ।

अहिले दिएको छुट मूल्यमा जे-फाइभ किन्न २२ लाख ७९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्नेछ । साथै, बाँकी रहेको ३४ लाख १९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ । यसरी लिएको कर्जा रकम ८४ किस्तामा तिरिसक्नु पर्ने हुन्छ ।

अहिले बैंकहरूले औषतमा ७.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् ।

यस्तो छ जे-फाइभ एसयूभी

निकै स्मार्ट डिजाइनमा उपलब्ध जे-फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा दिइएको २६२० एमएम लामो ह्वीलबेस दिइएको छ । जे-फाइभको ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ ।

जेको जे-फाइभमा ५८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिनेछ । जेको जे-फाइभमा १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील मोटर छ ।

जेकोले जे-फाइभमा इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप दिएको छ । यसको कारण खराब बाटाहरूमा पनि सहज र आरामदायी ड्राइभिङ अनुभव पाउन सकिन्छ ।

जे-फाइभमा सोनीले बनाएको साउन्ड सिस्टम र इन-कार माइक सुविधा पनि उपलब्ध छ । मिनिमल डिजाइनमा तयार भएको इन्टेरियर, ड्यासबोर्डमा केही बटम सहितको १३.२ इन्चको ठूलो पोट्र्रेट टचस्क्रीन पाउन सकिन्छ । यसमा १.४५ वर्ग मिटर ठूलो प्यानोरोमिक ग्लास रूफ दिइएको छ ।

सुरक्षालाई विशेष प्राथमितामा राखेर बनाइएको एसयूभीमा एडास लेभल टु फिचर उपलब्ध छ । जे-फाइभमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटिक इमेर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् । इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट पनि उपलब्ध हुनेछ ।

मल्टी कलर एम्बियन्ट लाइटिङ, डबल-ग्लेज्ड साउन्ड प्रुफ ग्लास, वायरलेस चार्जिङ र पावर-एड्जस्टेबल फ्रन्ट सिटहरूले नलोभ्याउने कुरै भएन । फुल साइज स्पेयर टायर पनि उपलब्ध हुने भएकाले ढुक्कसँग यात्रा गर्न सकिन्छ ।

सामान राख्न ४८० लिटरको बुट स्पेस दिइएको छ । जुन पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म विस्तार गर्न सकिन्छ ।


Back_to_top