टाटा सियराको चर्चासँग जोडिएका ५ कारण, अर्को महिना नेपाल आउने

काठमाडौं । टाटा मोटर्सले अघिल्लो २०२५ को अन्तिममा सार्वजनिक गरेको सियरा एसयूभी भारतमा निकै चर्चा कमाइरहेको छ । लुक्स, डिजाइन र टेक फिचरको कारण यसले धेरै चर्चा पाएको हो ।

सिप्रदी ट्रेडिङले पनि आगामी फेब्रुअरीमा नेपाल ल्याउने तयारी गरिरहेको सियरा नेपालमा पनि राम्रै चर्चा पाउन सफल मोडल हो । खासगरी नेपालमा बल्की डिजाइनका एसयूभीहरू उपभोक्ताको रोजाइमा पर्ने हुँदा सियराले धेरैको ध्यान खिचेको मानिन्छ ।

टाटा सियरा नामबाट कम्पनीले १९९१ मा एसयूभी लन्च गरेको थियो । तर, पछि २००३ मा सियराको उत्पादन बन्द भएको थियो । ठ्याक्कै २२ वर्षपछि कम्पनीले पूर्णतः नयाँ डिजाइनमा पुरानो नेम प्लेट प्रयोग गरेर ल्याएको हो ।

अहिले यसलाई पुरानो मोडलको ‘नोस्टालिजिया’ र आधुनिक टेक फिचरको ‘परफेक्ट ब्लेन्ड’ मानिन्छ । नेपालमा छिट्टै आउने भएको कारण यसले भारतीय उपभोक्ता बीच चर्चाको शिखर चुम्न सफल हुनुका ५ कारण बारे हामीले यहाँ चर्चा गरेका छौं ।

१. डिजाइन र लुक्स

टाटा सियराको बारेमा यति धेरै चर्चा हुनुको मुख्य कारण नै यसको लुक्स र डिजाइन हो । भारतीय उपभोक्ताले पुरानो सियराको आकर्षण र स्टेटसको रूपमा यसलाई लिए ।

बक्सी डिजाइन, अल्पाइन ग्लास, मस्कुलर लुक र मोर्डन ट्विस्टको कारण धेरैको मन जित्न सफल भएको हो । टाटाले सियरा बाहिरबाट जति राम्रो बनाएको छ, त्यति नै भित्र पनि उत्कृष्ट लाग्छ ।

२. आकर्षक फिचर

सियरा एसयूभीको ड्यासबोर्डमा ‘ट्रिपल स्क्रीन’ प्रयोग भएको छ । लेभल टु प्लसको एड्भान्स ड्राइभर एसिस्टेन्स, जेबिएलको १२ स्पीकरसहितको म्युजिक सिस्टम, पानारोमिक शनरुफ, फाइभ जी कनेक्टिभिटी जस्ता फिचर्स छन् ।

गाडीमा हिटेड र भ्यान्टिलेटेड सहितको लेदर सिट, ६२२ लिटरको बुट स्पेसको कारण यसलाई फ्यामली एसयूभीको रूपमा परिभाषित गरिएको छ ।

३. उच्च बुकिङ र मूल्य

भारतमा बुकिङ खुला भएको पहिलो दिनमा नै ७० हजार युनिटभन्दा धेरै सियर बुकिङ भएको थियो । जुन कम्पनीको आगामी ४ देखि ६ महिनासम्मको डेलिभरी प्लानमा समावेस भइसकेको छ । कम्पनीले आगामी जनवरी १५ तारिखबाट भारतमा डेलिभरी सुरू गर्दैछ ।


टाटाले सियरा एसयूभीको सुरूवाती मूल्य ११ लाख ४९ हजार भारतीय रुपैयाँ तोकेको छ । यो मूल्य अनुसार सियरा एसयूभीको प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस, सुजुकी ग्राण्ड भिटारा जस्ता एसयूभीसँग हुने देखिन्छ ।

४. सुरक्षा र ब्यूल्ट क्वालिटी

पछिल्ला दिनमा टाटाका हरेक गाडीले सेफ्टी परीक्षणमा राम्रो अंक पाएको छ । त्यसैको निरन्तरताको रूपमा यसलाई लिन सकिन्छ । ‘आर्गोस आर्किटेक्चर’मा बनेको सियरामा हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरिएको छ ।

५. पावरफुल इन्जिन

टाटाले सियरामा प्रयोग गरेको १.५ लिटर टीजीडीआई टर्बो पेट्रोल इन्जिन निकै पावरफुल छ । १६० पीएस पावर र २५५ न्यूटन मिटर टर्क प्रदान गर्ने इन्जिन स्मुथ, पावरफुल र फन टु ड्राइभ रहेको छ । यसले प्रतिलिटर २९.९ किलोमिटर माइलेज दिने एआरएआई टेस्टले देखाएको छ ।


नेपालमा के होला ?

नेपाली बजार पेट्रोल कारको तुलनामा ईभीमा बढी आकर्षित छ । त्यसैले यसको पेट्रोल मोडलले कस्तो बजार पाउँछ, अहिल्यै भन्न कठिन छ । तर, नयाँ टेक्नोलोजी र डिजाइनको पेट्रोलबाट चल्ने एसयूभी खोज्नेका लागि यो उत्तम विकल्प हुन सक्छ । यसमा सिप्रदीले कायम गर्ने मूल्यले पनि ठूलो भूमिका निर्वाह गर्नेछ ।

टाटा मोटर्सले छिट्टै ईभीमा पनि ल्याउन लागेका कारण यसको इलेक्ट्रीक भर्सनले भने नेपालमा पक्कै राम्रो व्यापार गर्नेछ । सन् २०२६ को दोस्रो त्रैमाससम्ममा सियरा ईभी नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top