काठमाडौं । रातिको समय सडकका सवारी चाप न्यून हुन्छ । केहीलाई खाली सडकमा मोटरसाइकलमा यात्रा गर्न रमाइलो समेत लाग्छ । तर, कम भिजिबिलिटी र अप्रत्याशित अवरोधका कारण राति सवारी चलाउँदा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्छ। त्यसैले रातिको यात्रा गर्दा विशेष सावधानी अपनाउन धेरै आवश्यक हुन्छ ।
अँध्यारो समयमा प्रायः सडकको अवस्था बुझ्न कठिन हुन्छ। खाल्डाखुल्डी, ढुंगा, जनावर वा अन्य अवरोधहरू समयमै नदेखिँदा दुर्घटना निम्तिन सक्छ। त्यसमाथि अगाडिबाट आउने गाडीको हाईबीम हेडलाइटले राइडरलाई केही समयका लागि ब्लाइण्ड स्पट बनाइदिने समस्या पनि रातिको मुख्य चुनौती हो।
दिउँसो सजिलो लागेको सडक राति जोखिमपूर्ण बन्न सक्छ। त्यसैले रातिको यात्रा गर्दा थप सावधानी र अनुशासन आवश्यक हुन्छ। यहाँ हामीले राति मोटरसाइकल चलाउँदा ध्यान दिनुपर्ने कुराका बारेमा चर्चा गरेका छौं ।
मोटरसाइकलको लाइटलाई प्राथमिकता राख्ने
राति यात्रा गर्दा मोटरसाइकलको हेडलाइट, टेल लाइट, ब्रेक लाइट र इण्डिकेटरहरूले राम्रोसँग काम गरिरहेको छ वा छैन सुरूमै जाँच गर्नु पर्छ। धमिलो वा अध्यारो बत्तीले बाटो राम्रोसँग नदेखिने भएकाले यात्रा अघि सफा र जाँच गर्न आवश्यक छ। कुनै बत्ती बिग्रिएको अवस्थामा रातिको यात्रा गर्दा दुर्घटना निम्तिन सक्छ ।
रिफ्लेक्टिभ गियर प्रयोग गर्ने
मोटरसाइकल सानो साधन हुने भएकाले अँध्यारोमा सजिलै नदेखिन सक्छ। यस्तो अवस्थामा रिफ्लेक्टिभ टेप, स्टिकर वा चम्किलो ज्याकेट जस्ता लाइटले सहजै देखिने रिफ्लेक्टिभ चिज प्रयोग गर्ने । यस्ता कुराले अन्य चालकलाई सजिलै देखिन मद्दत पुर्याउँछ ।
गति नियन्त्रण र दूरी कायम राख्ने
राति स्पीडभन्दा पनि सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले संयमित गतिमा मोटरसाइकल चलाउने, अगाडिको गाडीसँग पर्याप्त दूरी राख्ने र मोड तथा चोकमा विशेष ध्यान दिने गर्नु पर्छ । हेडलाइटको देखाउने दूरी कम हुन्छ । सिमित भन्दा बढी गतिमा चलाउँदा आकस्मिक अवरोधमा मोटरसाइकल रोक्न वा कन्ट्रोल गर्न गार्हो पर्छ ।
प्रि-राइड जाँच अनिवार्य
राति निस्कनुअघि मोटरसाइकलको टायरको हावा, ब्रेकको अवस्था, ब्याट्री, मिरर लगायतका सम्पुर्ण कुराको अनिवार्य रूपमा जाँच गर्नु पर्छ। साथै, निस्किँदा मोटरसाइकलको टुलकिट, टर्चलाइटसँगै बोक्ने र क्लियर भाइजर भएको हेल्मेट लगाउने ।
थकान महसुस भएमा रोकेर आराम गर्ने
राति मोटरसाइकल चलाउँदा थकान महसुस भएमा केही बेर रोकेर आराम गर्नु पर्छ । जबरजस्ति चलाइराख्दा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, जसले दुर्घटना निम्त्याउन सक्छ ।आँखा भारी भएमा वा निद्रा लागेमा सुरक्षित स्थानमा रोकिनु, पानी वा जुसहरू सेवन गर्नु तथा आवश्यक परे यात्रा स्थगित गर्नु नै उत्तम विकल्प हुन्छ। कुहिरो, भारी वर्षा वा नयाँ सडकमा रातिको यात्रा एक्लै कहिलै गर्नु हुँदैन ।
सबै खाले सवारी साधन चलाउने चालकले सुरक्षालाई नै पहिलो प्राथमिकता राख्नु एकदमै महत्वपूर्ण छ ।

