सडकका खाल्डाखुल्डी पुर्न बोरामा रेडिमिक्स प्याकिङ, ६ महिनासम्म काम गर्ने

काठमाडौं । सडकमा हुने खाल्डाखुल्डी पुर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ ।

सडकमा खाल्डाखुल्डी देखिएको तत्कालै मर्मत गर्नका लागि सडक डिभिजनले रेडिमिक्स बनाई बोरामा प्याकिङ गरेर राख्न थालेको हो ।

डिभिजनले हाल रेडिमिक्स बनाएर सिमेन्टको बोरामा प्याक गरेर राख्ने काम गरिरहेको हो । सडकमा कतै  खाल्डा देखिएमा उक्त बोरामा रहेको रेडिमिक्स लगेर तुरुन्तै पुर्न सकिन्छ ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा ६ महिनासम्म रहने जानकारी दिए ।

उनका अनुसार प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी-एटर्नेट) प्रयोग गरिन्छ । स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ । आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उनको भनाइ छ ।

कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उनले बताए । हाल करिब १ हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको छ । आवश्यकता अनुसार थप परिमाण बढाइने उनले जानकारी दिए ।

‘सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरू गरेका हौं । यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ । थप पोटहोल बढ्न पाउँदैन, उनले भने ।

अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउसमेत भएको कार्यालयको दाबी छ । हाल कार्यालयले आफ्नो क्षेत्रका नारायणगढ-मुग्लिन, नारायणगढ-लोथर, भरतपुर-माडी तथा भरतपुर-मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिए ।

यी सडकमा भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उनले बताए ।


Back_to_top