सुजुकी स्वीफ्टलाई टिक्नै कठिन, बलेनो बन्द (५ वर्षको आयातसहित)

काठमाडौं । मारुती सुजुकी इन्डियाको सर्वाधिक सफल दुई मोडल स्वीफ्ट र बलेनो ह्याचब्याक नेपालमा कठिन अवस्थामा पुगेको देखिन्छ । यो विषय हामीले भनेको होइन, आयात तथ्यांकले देखाएको हो ।

सन् २०२१ नेपालको इन्टरनल कम्बस्चन इन्जिन भएका गाडीको लागि स्वर्ण थियो । त्यो समय एक वर्षमै १ हजार ४८ युनिट आयात भएको स्वीफ्ट र बलेनो सन् २०२५ मा केबल २१ युनिट मात्रै आयात भएको छ ।

मारुती सुजुकी स्वीफ्ट हरेक वर्ष आयात हुँदै आएको भए पनि बलेनो ह्याचब्याक कार भने सन् २०२२ बाट एक युनिट पनि आयात भएको छैन । सन् २०२१ मा केबल ७८ युनिट बलेनो आयात भएको थियो ।

नेपालको सडकमा बाक्लो संख्यामा भेटिने स्वीफ्ट र बलेनो कमजोर क्वालिटी वा नसुने ब्राण्ड नेमको कारण बिक्री कम भएको होइन । नकी आधिकारिक बिक्रेता सीजी मोटोकर्पले दिने सेवा कमजोर भएर कम बिक्री भएको हो । यी सफल ह्याचब्याक कारको बिक्री कम हुनुमा विद्युतीय सवारीमा बढ्दो आकर्षण मुख्य कारण हो ।

सन् २०२२ बाट ईभीको बजारमा आएको उछालसँगै स्वीफ्ट र बलेनो दुवै मारमा परे । स्वीफ्ट जेनेतेन जीवित भए पनि बलेनो आयात बन्द भएको ४ वर्ष भइसकेको छ । सुजुकीका कारमा भएको निरन्तर मूल्य वृद्धिको असर स्वीफ्टमा पनि देखियो ।

निरन्तर घट्यो आयात

पछिल्लो ५ वर्षमा यी दुई मोडलको सर्वाधिक आयात नै सन् २०२१ मा भएको देखिन्छ । सन् २०२१ मा १०४८ युनिट बलेनो र स्वीफ्ट आयात भएको थियो । २०२२ पछि स्वीफ्ट मात्रै आयात हुँदै आएको छ । २०२२ मा केबल १३९ युनिट मात्रै स्वीफ्ट आयात भएको थियो ।

त्यसपछि पनि स्वीफ्टको आयात निरन्तर ओरालो लाग्दै आएको छ । सन् २०२३ मा ६७ युनिट आयात भएकोमा २०२४ मा अझै घटेर ५५ युनिट भएको देखिन्छ । सन् २०२५ पनि स्वीफ्टको लागि सुखद रहेन । दुवै मिलाएर केबल २१ युनिट मात्रै आयात भएको छ ।

मूल्यको कारण पनि बिक्री घट्यो

मारुती सुजुकीका कार भारतमै निरन्तर मूल्य बढ्दै आएको छ । नेपालमा त्यसको असर अझ धेरै परिरहेको छ । पेट्रोल कारमा सरकारले लगाउने २५० प्रतिशत हाराहारीको करको कारण थोरै मूल्य बढेर आउँदा पनि नेपालमा ठूलो मूल्य अन्तर देखिदा बिक्री घटेको अनुमान गर्न सकिन्छ ।

अहिले सीजी मोटोकर्पले विभिन्न १० भेरियन्टमा स्वीफ्ट ह्याचब्याक उपलब्ध गराएको छ । इन्ट्री भेरियन्टकै मूल्य ३८ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ५२ लाख २९ हजार भएको कारण उपभोक्ताको रोजाइमा पर्न छाडेको हो ।

अहिले स्वीफ्टको मूल्य तिर्दा बजारमा एक से एक इलेक्ट्रीक एसयूभी किन्न पाइने अवस्था छ ।


Back_to_top