काठमाडौं । खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीको बंशिलाघाटमा बेलिब्रिज संचालनमा ल्याइएको छ ।
बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भएपछि अस्थायी बेलिब्रिज संचालनमा ल्याइएको हो ।
उक्त पुल पानीको बहाव बढ्न थालेपछि निकालेर राख्ने गरी जडान गरिएको हो । उक्त पुल कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आव २०८१/८२ मा १ करोड ८७ लाखमा खरिद गरेको थियो भने गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालिले ५७ लाख रुपैयाँ (करसहित)मा जडानको ठेक्का पाएको थियो ।
५१.८१ मिटर लामो यो बेलिब्रिज ४.१ मिटर चौडाइको छ । बंशिलाघाटमा बेलिब्रिज जडान भएपछि खोटाङ, भोजपुरका नागरिकका सिधै उदयपुरको बेलटार हुँदै सहजै तराईका सहरहरूमा आउजाउ गर्न सक्नेछन् ।
३३ महिनामा सक्नेगरी २०७७ पुस २८ गते बंशिलाघाटमा पक्की पुल निर्माणको ठेक्का लगाइएको थियो । उक्त पुलको ठेक्का एमरएस कालिका(बेदांसी जेभी, काठमाडौंले १९ करोड १८ लाख ४१ हजार ४०० रुपैयाँमा ठेक्का पाएको छ । तर, प्रगति भने सनकै सुस्त छ ।
त्यस्तै, सुनकोसीकै धाप्लाङघाट २०० मिटर लामो पक्की पुल निर्माण भइरहेको छ । यसको पनि काम निकै सुस्त छ । २०७३ असारमा ठेक्का सम्झौता भएको यो पुल निर्माण ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ ।
धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण शुरू गरिएको थियो। त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउण्डेसन प्रविधिको पुल निर्माण थालिएको छ। स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ। यो पुल संघीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लगानीमा बन्न लागेको हो । पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ जेठ १९ गतेसम्ममा धाप्लाङघाटको पुल निर्माण सम्पन्न गर्नुपर्छ।
त्यस्तै, सुनकोसीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज यसअघि नै सञ्चालनमा ल्याइएको छ। खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

