काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनवरी महिनामा २५३ युनिट विद्युतीय कार आयात गरेको भन्सार तथ्यांकमा देखिन्छ । सिप्रदीले आफूले बिक्री गर्दै आएको पन्च, टियागो, नेक्सन केथ्री र एक्सप्रेस टी मोडलको आयात गरेको देखिन्छ ।
टाटाको सर्वाधिक बिक्री भइरहेको एक्सप्रेस टी, पन्च ईभी र टियागो ईभी नै सबैभन्दा धेरै आयात भएको छ । कम्पनीले जनवरी महिनामा पनि सबैभन्दा धेरै एक्सप्रेस टी मोडल ल्याएको छ ।
ट्याक्सीको रूपमा बिक्री वितरण हुँदै आएको एक्सप्रेस टी जनवरी महिनामा ११२ युनिट आयात भएको देखिन्छ । सिप्रदीले आफ्नो इन्ट्री लेभल एसयूभी पन्च ईभी ७० युनिट आयात गरेको छ ।
ह्याचब्याक कार सेग्मेन्टमा बलियो स्थान जमाइरहेको टाटाले टियागो ईभीको आयात पनि राम्रो संख्यामा गरेको छ । उसले जनवरी महिनामा ५१ युनिट टियागो ईभी नेपाल ल्याएको हो ।
कुनै समयको हटकेक मोडल टाटा नेक्सनको आयात अहिले पनि निरन्तर भइरहेको देखिन्छ । नेक्सन केथ्री मोडलको आयात जनवरी महिनामा २० युनिट भएको छ । टाटा कर्भ ईभीको आयात भने जनवरी महिनामा भएको देखिँदैन । समग्रमा सिप्रदीले २०२६ मोडल राम्रो संख्यामा आयात गरेको देखिन्छ ।
सिप्रदीले नेपाल ल्याएका विद्युतीय कार टियागो र एक्सप्रेस टीमा ४८ किलोवाटको मोटर दिइएको छ । कम्पनीले पन्च ईभीमा ९० किलोवाटको मोटर अप्सन ल्याइरहेको छ । साथै, नेक्सन केथ्री भने ९८ किलोवाटको इलेक्ट्रीक मोटर ल्याएको हो ।
बलियो बिक्री नेटवर्क, ठूलो सर्भिस सन्जाल र पार्ट्सको बलियो नेटवर्कको कारण सिप्रदीले बिक्री गर्ने टाटाका विद्युतीय कारहरू नेपाली बजारमा निकै सफल मानिन्छन् ।

