काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताए अनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ।
सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ।
नयाँ ट्रयाकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ भने यस मार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ।
यही भदौ १० गते बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि फेरि भदौ १४ गते भोटेकोशीको बाढीले सडक भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
यसै क्रममा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले ४ दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प सुझाएका थिए।


