५० वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई, अनुमानभन्दा १२ करोड कम लाग्ने

काठमाडौं । विद्युत प्राधिकरण निर्माण गर्न टेन्डर आह्वान गरेको चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनी जियाङसु वाङदाङ न्यू इनर्जी टेक्नोलोजीले पाएको छ । विभिन्न १३ कम्पनीले चार्जिङ स्टेशन निर्माणमा इच्छा देखाएपनि सर्ट लिस्टमा तीन कम्पनीलाई राखेर छनोट गरिएको थियो ।

छनोटमा परेको चिनियाँ कम्पनी जियाङसु वाङदाङ न्यू इनर्जी टेक्नोलोजीलाई एलओआई लेटर प्राधिकरण दिइसकेको छ । प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेशन निर्माणमा ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेपनि कम्पनीले ३८ करोड रुपैयाँमा नै निर्माण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्रमा सबै ५० स्थानमा चार्जिङ स्टेशन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यहि अनुसार ठेक्का सम्झौँता गर्ने जनाएको छ ।

निर्माण कम्पनीले ५ वर्षसम्म मर्मतको जिम्मा लिनेगरि यो आयोजनालाई अगाडि बढाइएको हो । विशेषत राजमार्गलाई ध्यानमा राखेर यस्ता चार्जिङ स्टेशन निर्माण हुने छन् । निर्माण गरिने चार्जिङ स्टेशन १२० किलोवाट डिसी र २२ किलोवाट एसी हुने छ ।


Back_to_top