काठमाडौं-रक्सौल रेलमार्ग निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं । काठमाडौं-रक्सौल रेलमार्ग निर्माणले गति लिने भएको छ । ब्रोडगेजमा बनाउने कि स्टायन्डर्ड गेजमा बनाउने भन्ने विवादले यो आयो जना अगाडि बढ्न सकेको थिएन । अब सरकारले उक्त आयोजना ब्रोडगेजमा निर्माण गर्न त्यसको विस्तृत डिजाइन अध्ययन गर्ने सम्झदारी पत्रलाई नेपाल सरकारले स्वीकृत दिएसँगै यो रेलमार्ग निर्माण थालनी हुने भएको हो ।

नेपाल सरकारले मन्त्री परिषदबाट स्वीकृत गरेसँगै अब भारतीय पक्षको निर्णय कुरेर नेपाल बसेको छ । नेपालले जस्तै भारतले पनि यो आयोजनालाई स्वीकृत दिएसँगै यसको निर्माण अघि बढ्ने छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै यो योजना अगाडि बढाउन नेपाल सरकारले सहमति दिएको जानकारी दिए । उसो त यो आयोजना अघि बढाउने विषयमा २०७४ सालमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको भारत भ्रमणको समयमा दुई देश बीच काठमाडौं रक्सौल रेलमार्ग योजना निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । नेपाल र भारतका दुबै प्रधानमन्त्रीले सम्झौंता पत्रमा हस्ताक्षर गरेका थिए ।

अघि बढाउने सम्झौंता भएको तीन वर्षपछि नेपाल सरकारले भारतलाई आयोजना अगाडि बढाउन प्रस्ताव गरेको छ । करिब १३६ किलोमिटर लामो रेलमार्ग निर्माण हुनसके नेपाल र भारत बीचको व्यापारमा लाग्दै आएको महंगो यातायात खर्च कम हुने विश्वास लिइएको छ ।


Back_to_top