भारतमाभन्दा पहिला नेपालमा विक्री सुरु भएका ५ एसयूभी

काठमाडौं । धेरै मानिसलाई लाग्न सक्छ भारतमा विक्री सुरु भएपछि मात्रै ती मोडल नेपाल आउने छन् । तर, बिगत एक वर्षलाई मात्रै हेर्ने हो भने पनि भारतमा भन्दा पहिला नेपालमा विक्री सुरु भएका थुप्रै मोडल भेट्टाउन सकिन्छ ।

विशेषगरी जापानीज र कोरियन ब्राण्डले भारतमा भन्दा पहिला नेपालमा नयाँ मोडल सार्वजनिक गर्ने गरेका छन् । कोरियन ब्राण्ड हुन्डाई, जापानी ब्राण्ड टोयोटाले भारतमाभन्दा पहिला आफ्ना उत्पादन नेपालमा विक्री गरेका छन् ।

एलसी ३००

सन् २०२१ मा आएका गाडीमध्ये निकै प्रिमियम मानिएको टोयोटा एलसी ३०० नेपालमा त्यही वर्ष सार्वजनिक भएको थियो । जुन भर्खर भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । टोयोटा एलसी ३०० नोभेम्बर २०२१ बाट नेपालमा विक्री सुरु भएको थियो ।

इ सिक्स

चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीले पनि नयाँ इ सिक्स भारतमा भन्दा नेपालमा पहिला विक्री सुरु गरेको हो । विशेषत ब्लेड ब्याट्रीको कारण चर्चामा रहेको बीवाइडी न्यू इ सिक्स भारतमा नोभेम्बर २०२१ मा सार्वजनिक भएको हो । नेपालमा भने मार्च २०२१ मै यसको विक्री सुरु भएको थियो ।

टुसान

कोरियन ब्राण्ड हुन्डाईले सन् २०२१ मै नेपालमा सार्वजनिक गरेको अल न्यू हुन्डाई टुसान आज मात्रै भारतमा सार्वजनिक भएको छ । नेपाली सडकमा राम्रै प्रेजेन्स बनाउन सफल नयाँ जेनेरेशन हुन्डाई टुसान नेपालमा विक्री सुरु भएको करिब एक वर्ष हुन लागिसकेको छ ।

जेडएस

अर्को चर्चित ब्राण्ड एमजीले आफ्नो फेसलिफ्ट होस् वा पहिलो मोडल जेडएस ईभी भारतभन्दा पहिले नेपालबाटै विक्री सुरु गरेको हो । नेपालमा पाएको सफलतापछि एमजीले जेडएस ईभी भारतमा सार्वजनिक गरेको थियो । फेसलिफ्ट मोडल पनि भारतमा भन्दा पहिला नेपालमा सार्वजनिक भएको थियो । तर, फेसलिफ्ट जेडएस ईभीको विक्री नेपालमा अझै सुरु हुन पाएको छैन ।

आयोनीक ५

त्यसैगरी, हुन्डाईले आफ्नो नयाँ इलेक्ट्रीक क्रसओभर आयोनीक ५ नेपालमा विक्री सुरु गरेको करिब ६ महिना भइसकेको छ । कम्पनीले यही अगष्टबाट भारतमा पनि यसको विक्री सुरु गर्दैछ ।


Back_to_top