काठमाडौं । विद्युतीय साधनको बजार विस्तारसँगै ह्याचब्याक कारहरूको पुनर्जन्म भएको मानिन्छ । सन् २०२२ पछि क्रमिक रूपमा घट्दै गएको ह्याचब्याक कार सेग्मेन्टमा अहिले आएर ठूलो प्रतिस्पर्धा हुने देखिएको हो ।
हुन्डाई ग्राण्ड आई १० नियोस, सुजुकी स्वीफ्ट, सेलेरियो, टाटा टियागो जस्ता मोडलले ह्याचब्याक सेग्मेन्ट थेगिरहेको समयमा आएको बीवाइडी डल्फिनले बजार नै उथलपुथल बनायो ।
बीवाइडीकै एटो वान, टाटा टियागो ईभी, नामी बक्स जस्ता साना ह्याचब्याक कारले राम्रो बिक्री पाएसँगै एकपछि अर्को ह्याचब्याक कार बजारमा आउन लागेका हुन् । भोलि साउन ४ गतेबाट यही सेग्मेन्टमा प्रोटोन इमास फाइभको बिक्री सुरू हुँदैछ ।
अहिले बजारमा रहेका ह्याचब्याक कारहरू बीवाइडी एटो वानसँग यसको सिधा प्रतिस्पर्धा हुन्छ । साइजको हिसाबले एटो वानभन्दा ठूलो इमास फाइभ बीवाइडीको नेपालमा डिस्कन्टिन्यू भएको डल्फिनको प्रतिस्पर्धी मोडल हो ।

बजारमा आगामी नाइमा मोबिलिटी एक्स्पोमा आरफक्स टी वान र चेरी क्यूक्यू थ्री मोडल आउँदै छन् । यी दुवै प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध हुने कार हुन् । दुवै कारले राख्ने मूल्यले प्रतिस्पर्धी तय हुनेछ ।
यी दुईसँगै टाटा टियागो र नामी बक्सको पनि अपडेटेड मोडल नेपाल आउने तयारीमा छ । यी दुवै मोडल सम्भवतः आगामी नाडा अटो शोबाट बिक्री सुरू हुनेछन् ।
मुख्य भिडन्त ६ मोडलमा
यसअघि जसरी बजार चलेको भए पनि अबको प्रतिस्पर्धा ६ ब्राण्डका उत्पादन बीच हुने देखिन्छ । जसमा मुख्य प्रतिस्पर्धी बीवाइडी एटो वान, टाटा टियागो ईभी, नामी बक्स, प्रोटोन इमास फाइभ, आरफक्स टी वान र चेरी क्यूक्यू थ्री बीच हुनेछ ।
पहिला नै बजारमा आफ्नो पकड बनाएको एटो वान, टियागो ईभी र नामी बक्सलाई नयाँ आउन लागेका प्रोटोन इमास फाइभ, आरफक्स टी वान र क्यूक्यू थ्रीले कस्तो चुनौती पेश गर्छन्, त्यो हेर्न भने अझै कुर्नु पर्ने हुन्छ ।
मुख्य प्रतिस्पर्धा मूल्यमा
ह्याचब्याक कारको बजारमा प्रतिस्पर्धाको मुख्य आधार मूल्य हुने देखिएको छ । मूल्यकै आधारमा उपभोक्ताले कुन ईभी किन्छन् भन्ने अनुमान पनि लगाउन सकिन्छ ।
माथि चर्चा भएका ह्याचब्याक कार मध्ये टाटा टियागो ईभी सबैभन्दा सस्तो मोडल हो । त्यसैले यसको बजारमा उपस्थिति पनि बक्लो छ । भारतमा उत्पादन भएको टियागो ईभी सर्भिसमा ढुक्क हुन्छु भन्ने उपभोक्ताको रोजाइमा पनि पर्दै आएको छ ।
बीवाइडी एटो वान पनि मूल्यको हिसाबले कम मूल्य भित्रै उपलब्ध कार हो । यसको ब्राण्ड नेम र स्पोर्टी डिजाइनका कारण उपभोक्ताले खरिद गर्दै आएका छन् ।
नामी बक्स ईभी आफ्नो डिजाइन, साइज र आधुनिक टेक फिचरको कारण सफल भएको मोडल हो । मूल्यका हिसाबले पनि टप भेरियन्ट नै ३५ लाख रुपैयाँमा किन्न पाइने भएका कारण उपभोक्ताको रुची त्यसमा निरन्तर कायम छ ।
आउँदै गरेका इमास फाइभ, आरफक्स टी वान र क्यूक्यू थ्रीले पनि यस्तै प्रतिस्पर्धी मूल्य राखेको खण्डमा टेक फिचर, क्याबिन स्पेश, मोर्डन डिजाइनको सहायताले चल्तीका मोडल माथि भारी पर्न सक्नेछ । त्यसको लागि आकर्षक मूल्य पहिलो सर्त हुने देखिन्छ ।


