काठमाडौं । मधेश प्रदेशले ठूला (हेभी) सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) दस्तुर दोब्बरभन्दा धेरैले बढाएको छ ।
प्रदेश सरकारले ‘आर्थिक ऐन २०८३’ मार्फत दुईपाँग्रे तथा चारपाँग्रे साना सवारीको लाइसेन्सको दस्तुर १०० प्रतिशत र हेभीको १३३.३३ प्रतिशतले बढाएको हो ।
आर्थिक ऐन अनुसार अब मधेश प्रदेशबाट ट्रक, बस, लहरी (जी), रोडरोलर, डोजर (एच), क्रेन दमकल, लोडर (आइ) र एस्काभेटर, ब्याकहो लोडर, गर्डर लगायत (जे) वर्गको नयाँ लाइसेन्स लिँदा र नवीकरण गर्दा ७ हजार रुपैयाँ तिर्नुपर्नेछ । गत असार मसान्तसम्म ३ हजार रुपैयाँ थियो ।
यससँगै मधेशमा हेभी सवारीको लाइसेन्स देशका ७ प्रदेशमध्ये सबैभन्दा महँगो बनेको छ । अन्य प्रदेशमा हेभी सवारीको लाइसेन्स दस्तुर ६ हजार रुपैयाँ तोकेका छन् ।
त्यस्तै, मधेशले ए/के वर्ग (मोटरसाइकल/स्कुटर)को नयाँ लाइसेन्स र नवीकरण शुल्क १५०० रुपैयाँबाट दोब्बरले बढाएर ३ हजार रुपैयाँ बनाएको छ ।
त्यसैगरी, कार, जीप, भ्यान (बी), ट्याक्टर (ई), मिनिबस, मिनि ट्रक (एफ)को लाइसेन्सको ५ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसअघि २ हजार रुपैयाँ थियो ।
टेम्पो, अटोरिक्सा (सी) र पावर ट्रिलर (डी) वर्गका लाइसेन्स दस्तुर २ हजार रुपैयाँबाट बढाएर ४ हजार रुपैयाँ पुर्याएको छ ।
सबै वर्गको सवारीको नयाँ वा नवीकरण हुने लाइसेन्सको म्याद भने १० वर्षको हुनेछ ।
प्रदेशले लाइसेन्सको आवेदन शुल्क भने ५०० रुपैयाँ नै यथावत राखेको छ ।
वर्ग थपको दस्तुर भने दोब्बरले बढाएको छ । यसअघि वर्ग ‘ए’देखि ‘एफ’सम्मको वर्ग थप दस्तुर ५०० रुपैयाँ रहेकोमा अब १ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै, वर्ग ‘जी’देखि ‘जे’सम्मको २ हजार रुपैयाँँ तिर्नुपर्नेछ । यसअघि १ हजार रुपैयाँ थियो ।


