काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्य सरकारले विद्युतीय सवारी खरिदलाई प्रोत्साहन गर्न नयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ । ट्रम्प सरकारले ईभी खरिदमा दिँदै आएको कर छुट बन्द गरेपछि त्यसको विकल्पमा क्यालिफोर्निया राज्य सरकारले आफ्नै प्रोत्साहन योजना ल्याएको हो ।
नयाँ योजनाअनुसार ग्राहकले नयाँ ईभी खरिद गर्दा अधिकतम ३ हजार ५०० अमेरिकी डलर र प्रयोग भइसकेको सेकेण्ड ह्याण्ड ईभी खरिद गर्दा १ हजार ७५० डलरसम्म तत्काल छुट दिने भएको हो । यो रकम गाडी खरिदकै समयमा मूल्यबाट घटाउन पाइने छ ।
राज्य सरकारले उक्त सुविधा ५० हजार डलरभन्दा कम मूल्यका नयाँ ईभी र २५ हजार डलरभन्दा कम मूल्यका रिकन्डिसन बजारमा उपलब्ध ईभीमा मात्रै लागू हुने जनाएको छ । क्यालिफोर्नियामै मुख्यालय रहेका लुसिड र रिभियन ब्राण्डका सबै गाडीले छुट पाउने छन् । यी ब्राण्डका कारमा मूल्य सीमा राखिएको छैन ।
क्यालिफोर्निया राज्य सरकारले उक्त कार्यक्रममा फोर्ड, जनरल मोटर्स, होण्डा, हुन्डाई, किया, लुसिड, मित्सुबिसी, निसान, रिभियन, सुबारु, टेस्ला, टोयोटा र भोल्भो ब्राण्डका गाडी किन्ने मानिस सहभागी हुने जनाएको छ ।
बीएमडब्लू, मर्सिडिज-बेन्ज, अडी, फक्सवागेन, जीप, डज र मसेराटी जस्ता प्रिमियम ब्राण्ड भने कार्यक्रममा सहभागी छैनन् । ती कम्पनीका अधिकांश विद्युतीय सवारीको मूल्य ५० हजार डलरभन्दा माथि रहेकाले उनीहरू बाहिरिएर परेको बताइन्छ ।
रोचक पक्ष के छ भने कार्यक्रममा सहभागी केही कम्पनीसँग हाल मूल्य सीमाभित्र पर्ने नयाँ ईभी नै छैन । उदाहरणका लागि होण्डा प्रोलगको उत्पादन यसै वर्ष बन्द हुँदैछ । भोल्भो सीएक्स ३० पनि अमेरिकी बजारबाट हटिसकेको छ ।
क्यालिफोर्निया राज्य सरकारले ल्याएको अनुदान दिने कार्यक्रम अटो निर्माता कम्पनीहरूसँग मिलेर ल्याएको हो । जहाँ नयाँ ईभी किन्ने उपभोक्तालाई दिइने ३ हजार ५०० अमेरिकी डलर छुटमध्ये १ हजार ७५० डलर गाडी निर्माता कम्पनीले र बाँकी १ हजार ७५० डलर क्यालिफोर्निया सरकारले उपलब्ध गराउनेछ ।
प्रयोग भएका ईभीमा दिइने छुट कसरी कार्यान्वयन गर्ने भन्ने विषय अहिले टुङ्गो लागि सकेको छैन । संघीय सरकारले कर छुट हटाएपछि अमेरिकामा ईभीको माग घट्ने चिन्ता बढिरहेका बेला क्यालिफोर्नियाले ल्याएको यो योजना विद्युतीय सवारीको बजार चलायमान राख्ने सफल प्रयासको रूपमा हेरिएको छ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठूलो ईभी बजार भएकाले यस निर्णयको प्रभाव अन्य राज्यमा समेत देखिन सक्ने अपेक्षा गरिएको छ ।


