सस्ता कारलाई सधैं रोक्न सकिँदैन, प्रतिस्पर्धाको लागि जुटौँ : फोर्ड अध्यक्ष

काठमाडौं । अमेरिकी अटो निर्माता फोर्डका कार्यकारी अध्यक्ष बिल फोर्डले कम मूल्यका सस्ता चिनियाँ ईभीसँग प्रतिस्पर्धाको लागि तयार हुनुपर्ने बताएका छन् । उनले चिनियाँ अटो निर्माता कम्पनीलाई सधैं अमेरिकी बजारबाट बाहिर राख्न नसकिने धारणा व्यक्त गरेका हुन् ।

अमेरिकी अटो उद्योग संरक्षणवादी नीतिमा मात्र भर नपरी चिनियाँ कम्पनीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने उत्पादन विकास गर्न जुट्नुपर्ने अध्यक्ष फोर्डको धारणा थियो ।

वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा बोल्दै बिल फोर्डले अमेरिकी अटो उद्योगले चिनियाँ ब्राण्ड अमेरिकी बजारमा कहिल्यै प्रवेश गर्न सक्दैनन् भन्ने सोच त्याग्नु पर्ने बताए ।

उनले भने, ‘हामीले चीनसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरूलाई सधैंका लागि बाहिर राख्न सकिन्छ भन्ने अपेक्षा गर्न मिल्दैन । बरू उनीहरूकै खेलमा उनीहरूलाई हराउन सक्ने क्षमता विकास गर्नुपर्छ ।’

अहिले अमेरिकाले आयात शुल्क, व्यापारिक नीति तथा विभिन्न नियामकीय व्यवस्थामार्फत चिनियाँ अटो निर्माता कम्पनीलाई आफ्नो बजारमा प्रवेश गर्न कठिन बनाएको छ । अमेरिकी सांसदहरूले चिनियाँ सवारीसाधनको आयातलाई थप कडाइ गर्ने कानुनी व्यवस्था ल्याउने तयारीसमेत गरिरहेका छन् ।

बिल फोर्डले पनि घरेलु उत्पादन र रोजगारी जोगाउन यस्ता संरक्षणात्मक नीतिको समर्थन गर्दै आएका छन् । उनका अनुसार चिनियाँ कम्पनीहरूले अत्याधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यका कारण विश्वका धेरै बजारमा अमेरिकी ब्राण्डको हिस्सा खोसिरहेका छन् ।

चिनियाँ ब्राण्डको अमेरिकी बजारमा उल्लेख्य उपस्थिति नरहे पनि उनीहरूको प्रभाव भने अमेरिकी कम्पनीहरूको रणनीतिमा देखिन थालेको फोर्डको भनाइ छ ।

यसै प्रतिस्पर्धालाई ध्यानमा राख्दै फोर्डले सन् २०२७ सम्म करिब ३० हजार अमेरिकी डलर मूल्यको किफायती विद्युतीय पिकअप बजारमा ल्याउने तयारी गरिरहेको बताए । उत्पादन लागत घटाउन कम्पनीले गिगाकास्टिङ, सरल विद्युतीय वायरिङ संरचना तथा नयाँ उत्पादन प्रविधिको प्रयोग गर्ने उनको भनाइ छ ।

बिल फोर्डले अमेरिकी सरकारसँग अटो उद्योगका लागि दीर्घकालीन र स्थिर औद्योगिक नीति आवश्यक रहेको पनि बताए । उनका अनुसार नयाँ सवारीसाधन विकासदेखि उत्पादनसम्म पुग्न धेरै वर्ष लाग्ने भएकाले उद्योगको योजना राजनीतिक कार्यकालभन्दा धेरै लामो हुन्छ । त्यसैले पटक-पटक परिवर्तन हुने नीतिले अटो उद्योगलाई असर गर्दै आएको उनको भनाइ थियो ।

चिनियाँ ब्रान्डको चुनौती बढ्दो

विश्वका विभिन्न बजारमा बीवाइडी, जिली, चेरी, एमजी लगायतका चिनियाँ कम्पनीले तीव्र विस्तार गरिरहेका छन् । विशेषगरी अष्ट्रेलियामा बीवाइडी शार्क ६ पिकअपले उल्लेखनीय सफलता हासिल गरेपछि अमेरिकी कम्पनीहरूले पनि चिनियाँ उत्पादकलाई गम्भीर प्रतिस्पर्धीका रूपमा लिन थालेका हुन् ।


Back_to_top