काठमाडौं । कियाले आफ्नो भारतमा बनेको पहिलो एसयूभी सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कन्टिनेन्टल ट्रेडिङले बजारमा ल्याएको यो एसयूभी बिभिन्न ५ भेरियन्टमा सार्वजनिक गरिएको छ । १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याइएको यो एसयूभीले ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ ।
कम्पनीले १.४ लिटर टर्बो इन्जिन युक्त सेल्टोस भने मार्च २०२० मा मात्रै ल्याउने भएको छ । उत्कृष्ट डिजाईन, ब्राण्ड न्यू मोडल, आकर्षक इन्टेरियरको कारण यो एसयूभी अहिले भारतीय बजारमा समेत चर्चामा रहेको छ ।

यसलाई नेपालको लागि दक्षिण कोरियाली राजदुत पार्क योङ्ग र कन्टिनेन्टल्स ट्रेडिङका प्रेसिडेन्ट सुरिद घिमिरेले संयूक्त रुपमा सार्वजनिक गरेका हुन् ।
‘नेपालमा अहिलेसम्म कियाका गाडी कोरियाबाट ल्याएर बिक्री गर्नु परेको थियो । अब भारतीय बजारबाटै आउन सुरु भएको छ । हामी सेल्स, सर्भिस र स्पेयरपार्टसमा उत्कृष्ट सेवा दिदै अगाडि बढ्ने छौं’, सार्वजनिकपछि कम्पनीका प्रेसिडेन्ट सुरित घिमिरेले भने ।

किया सेल्टोस कम्पनीको अर्को उत्कृष्ट लाइनअप रहेको कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेले दाबी गरे ।
‘यो ब्राण्ड न्यू मोडलले भारतमा मिडसाइज एसयूभीमा छुट्टै स्थान बनाएको छ । नेपालमा पनि यसले राम्रो व्यापार गर्ने कुरामा हामी ढुक्क छौं’, लामिछानेले भने ।
कोरियन उत्पादनले नेपालमा निकै राम्रो बजार पाईरहेको भन्दै नेपालको लागि कोरियाली राजदुत पार्क योङ्गले कियाका उत्कृष्ट उत्पादन नेपाली बजारमा मनपराइएको बताएका थिए ।

यस्तो छ सेल्टोस
किया सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ । यो एसयूभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।

१७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्पले एसयूभीलाई उत्कृष्ट बनाएको छ ।

विभिन्न ५ भेरियन्टमा नेपालमा उपलब्ध रहेको सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकिएको छ । यी सबै भेरियन्टमा तत्काल बुकिङ गर्ने ग्राहकले १ लाख ५० हजार नगद छुट पाउने छन् ।



