काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभीमा विशेष स्कीम ल्याएको छ । फेब्रुअरी महिनाभर टाटा पन्च ईभी किन्ने उपभोक्ताले ७० प्रतिशत ग्यारेन्टी सहितको रिसेल भ्यालु पाउने भएका हुन् ।
सिप्रदी ट्रेडिङका अनुसार कम्पनीले अफर गरेको रिसेल भ्यालु टाटाकै अन्य गाडीमा अपग्रेड गर्दा लागु हुनेछ । यसले उपभोक्तामा ईभीको रिसेल आउँदैन भन्ने डर हराउने कम्पनीको दाबी छ ।
टाटाको सफल मोडल पन्च ईभी नेपाली बजारमा एक हजार युनिट माथि बिक्री भइसकेको छ । गत वर्ष भदौ अन्तिमबाट बिक्रीमा आएको पन्च ईभी साइज, मूल्य, फिचर, पावर र डिजाइनको कारण पनि सफल भएको मोडल हो ।
‘हामीले उपभोक्तालाई केही न केही अफर गरौं भनेर रिसेल भ्यालूको ग्यारेन्टी प्रदान गरेका हौं । यसमा रहेका सर्त भने देशभर रहेका टाटा मोटर्सका शोरुमहरुमा बुझ्न सकिने छ’, सिप्रदी ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।
यस्तो छ टाटा पन्च ईभी
टाटाले ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्च ईभीमा भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ, वायरलेस चार्जर दिइएको छ । सनरुफसहितको एसयूभीमा ठूलो साइजको इन्फोटेन्टमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर छ ।
सुरक्षाको हिसाबले पनि पन्च ईभीलाई अब्बल मानिन्छ । यसले ग्लोबल एनक्याप र भारत एनक्याप दुवै क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ब्लाइण्ड स्पट मोनिटरिङ, चारै चक्कामा डिस्कब्रेक पाउन सकिन्छ ।
टाटाले हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बनाएको पन्च ईभी निकै एरोडाइनामिक छ । पन्च ईभी पावरको मामलामा पनि निकै राम्रो छ । यसमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले टर्क भने १९० एनएम प्रदान गर्छ । ग्राउण्ड क्लियरेन्सको हिसाबले पनि पन्च ईभी उत्कृष्ट छ । यसमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।
टाटाले आफ्नो माइक्रो एसयूभीमा ३५ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । जसको रेन्ज २७० किलोमिटर आसपास सहजै पाउन सकिन्छ ।

