काठमाडौं । केही समय अगाडी निसान मोटर्समा लगानी गर्ने योजना बनाएको ताइवानी ‘चीप मेकर’ फक्सकनले अन्त्यमा अर्को जापानी ब्राण्ड मित्सुबिशीसँग ईभी विकासमा सहकार्य गर्ने ‘एमओयू’मा हस्ताक्षर गरेको छ ।
बुधबार सार्वजनिक भएको सूचना अनुसार मित्सुबिशी मोटर्स र फक्सकनको सहायक कम्पनी फक्सट्रोन भेहिकल टेक्नोलोजीले इलेक्ट्रीक भेहिकल मोडल विकास गर्ने सम्बन्धी विषयमा सम्झौता गरेको हो ।
सम्झौता अनुसार फक्सकनले नयाँ मोडलको विकास गर्ने र ताइवानको अटो उत्पादक युलोन मोटर्सले मित्सुबिशीकाे ब्याचमा विद्युतीय कार उत्पादन गर्नेछ । यसरी उत्पादन भएको विद्युतीय कारहरू ‘ओसियाना रिजन’मा बिक्री गर्नेछ । उक्त संयुक्त लगानीको पहिलो मोडल सन् २०२६ बाट बजारमा आउने योजना बाहिर आएको छ ।
फक्सकनले जापानमा विद्युतीय कार बजारमा ठूलो अवसर देखेको जनाएको छ । जापानी कार निर्माताहरूले चिनियाँ अटोमोबाइल ब्राण्डसँग ठूलो प्रतिस्पर्धा गर्नुपरेको छ । विशेषत: युरोप, ब्राजिल र थाइल्याण्डमा चिनियाँ ईभीहरूले जापानी कार उत्पादकलाई पछाडि छाडेका छन् ।
मित्सुबिशीको साझेदारी जापानी ब्राण्ड निसान र फ्रेन्च कम्पनी रेनोसँग पुरानो साझेदारी रहेको छ । गत फेब्रुअरीमा मात्रै निसान र होन्डाको मर्जर सम्झौता भाँडिएसँगै फक्सकनले निसानसँग साझेदारी गर्ने कुरा बाहिर आएको थियो । अहिले निसानलाई हेरेको हेर्यै बनाएर मित्सुबिशीसँग फक्सकनले साझेदारी गरेको हो ।