भदौमा दुई नयाँ एसयूभी नेपाल ल्याउँदै महिन्द्रा

काठमाडौं । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले भदौमा दुई एसयूभी नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२४ मा नयाँ मोडल ल्याउने भएको हो ।

कम्पनीका अनुसार अटो शोमा आउने नयाँ एसयूभी ‘थ्रीएक्सओ’को बिक्री बितरण नै सुरु हुनेछ । अर्को एक मोडल शोकेसको लागि मात्रै ल्याउने तयारी गरेको हो ।

कम्पनीले ल्याउने अर्को एसयूभीको बारेमा जानकारी दिएको छैन । तर, चर्चित मोडल थारको ५ डोर मोडल नेपाल ल्याउने प्रयास भएको हुन सक्ने हाम्रो अनुमान रहेको छ ।

नाडामा केही ढिलोगरी सहभागिता जनाएको महिन्द्राले इएक्स–वान स्टल पाएको छ । यो मुख्य प्रदर्शनी हल छिर्ने मुलढोकाको दाहिने पट्टी पर्छ । महिन्द्राले स्टल पाएको कुरा नाडा अटो शो कमिटिका अनुप बरालले पुष्टि गरे ।

अग्नीले नेपाल ल्याउन लागेको एसयूभी थ्रीएक्सओ पूर्णत नयाँ मोडल हुनेछ । साथै, केहि दिन अगाडि मात्रै बिक्री सुरु भएको एक्सयूभी ४०० इलेक्ट्रीक र स्कर्पियो क्लासिक पनि अटो शोमा रहने छ ।

भारतमा आगामी अगस्ट १५ मा लन्च हुने ५ डोर थार (अर्माडा)समेत ल्याउन प्रयास भइरहेको बुझिएको छ । भारतमा बुकिङ सुरु भएको १ घण्टामै ५० हजार युनिट बुक भएको महिन्द्रा थ्रीएक्सओ अझै पनि भारतमा ४ देखि ६ महिनको वेटीङ पिरियड रहेको छ ।

एक्सयूभी थ्रीएक्सओ फिचर प्याक सब कम्प्याक्ट एसयूभी हो । यो एसयूभीमा थुप्रै सेग्मेन्ट फस्ट फिचर छन् । यो एसयूभीमा भर्टिकल हेडल्याम्प सेटअप, रिडिजाइन ग्रिल, अपडेटेड बम्पर, कनेक्टेड टेललाइट, नयाँ डिजाइनको डिउलटोन अलोय ह्वील जस्ता एक्टेरियर फिचर छन् ।

त्यस्तै इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको इन्टुमेन्टल क्लस्टर, ३६० डिग्री क्यामरा, हर्मन कार्डनको ७ वटा स्पीकर, भेन्टीलेटेड सिट, रियर एसी भेन्ट, प्यानारोमिक सनरुफ पाउन सकिन्छ ।

महिन्द्राले यसमा १.५ लिटर डिजेल इन्जिन, १.२ लिटरको टर्बो पेट्रोल र १.२ लिटरकै डाइरेक्ट इन्जेक्सन टर्बो पेट्रोल गरी तीन फरक इन्जिन दिएको छ । तर, नेपाल भने १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा रहने अनुमान गर्न सकिन्छ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।


Back_to_top