काठमाडौं । बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल पल्सर एनएस २०० को एफआई भर्सन नेपालमा बिक्री सुरु भएको छ ।
यो मोटरसाइकल बजाजका लागि नेपालको आधिकारीक वितरक एचएच बजाजले नेपालमा नै उत्पादन गरेको हो । यसले टीभीएसको अपाची आरटीआर २०० फोर भी बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
टीभीएसको अपाचे आरटीआर २०० ४ भीको एबीएस भर्सन भने अबको केही दिनपछि नेपाली बजारमा सार्वजनिक हुँदैछ । यी दुबै बाइकमा एबीएसको विशेषता दिइएको छ भने, एफआई इन्जिन लगाइएको छ । यी बाइकबारे बुझ्ने पर्ने केही तथ्य यस्ता छन् ।
इन्जिन
बजाजले आफ्नो बाइकमा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।
त्यस्तै, टीभीएस अपाची आरटीआर २०० फोर भीमा उपलब्ध सिंगल सिलिन्डर इन्जिनले ८५०० आरपिएममा २१ हर्षपावरका साथै ७००० आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।
डायमेन्सन
आरटीआर २०० फोर भीको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई ११०५ एमएम रहेको छ । ८०० एमएम सिट हाइट भएको यो बाइकको ह्वीलवेश १३५३ एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
एनएस २०० को लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाइ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
सस्पेन्सन तथा ब्रेक
एनएस २००को फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ ।
आरटीआर २०० फोर भीको फ्रन्ट साइडमा २७० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ भने फ्रन्टमा टेलिस्कोपिक फर्क सस्पेन्सन र रियरमा मनोट्युब सस्पेन्सन रहेको छ ।
टपस्पिड क्षमता
टपस्पिड क्षमता प्रतिघन्टा १२९ किलोमिटर भएको आरटीआर २०० फोर भीले प्रतिलिटर ३५ किलोमिटर माइलेज दिन्छ भने एनएस २०० को टपस्पिड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ । उक्त बाइकले पनि प्रतिलिटर ३५ किलोमिटर नै माइलेज प्रदान गर्ने कम्पनीको दावी छ ।
विशेषता
दुबै बाइकमा डीजीटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लिट सिट, पिलन ग्राब रेल लगायतका विशेषता यी बाइकमा समेटिएका छन् ।
मूल्य
नेपाली बजारमा एनएस २०० एफआई भर्सनको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ भने एबीएस एफआई भर्सनको मूल्य ३ लाख ५४ हजार ९ सय रुपैयाँ रहेको छ ।
यस्तै, बजारमा आरटीआर २०० फोर भी नन् एबीएस एफआईको मूल्य ३ लाख २५ हजार रहेको छ । एबीएस सहित सार्वजनिक हुँदा यसको मूल्य ३ लाख ५० हजार पर्ने अनुमान गरिएको छ ।


