तयारी मोटरसाइकलको आयात घट्दा, एनएसेम्बल मोटरसाइकलको भने बढ्दो

काठमाडौं । सरकारले सीसी क्षमाता तोकेर मोटरसाइकल आयातमा लगाएको प्रतिबन्धको कारण आयातमा भारी गिरावट आएको छ । आर्थिक वर्षको सुरुवाती दुई महिनाको तथ्यांक हेर्दा ४१ हजार ७१४ यूनिट मोटरसाइकल तथा स्कुटर मात्र आयात भएको हो ।

यो तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा ३५ प्रतिशत भन्दा धेरैले आयातमा कमी आएको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा ६४ हजार ४१४ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएकोमा २०७९/८० को दुई महिनामा ४१ हजार ७१४ यूनिट मात्र आयात भएको देखिन्छ ।

२५० सीसी माथिका मोटरसाइकलमा बैशाख १४ गतेदेखि नै प्रतिबन्ध लागेको थियो । त्यसका बाबजूद साउन महिनामा २५० सीसीदेखि ४०० सीसी क्षमताका मोटरसाइकल नेपाल भित्रिएको छ । प्रतिबन्ध लाग्नु अघि नै एलसी खोलिएका र अनएसेम्बल अवस्थाका मोटरसाइकल आयातमा अहिले पनि रोक लागेको छैन ।

आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा १३ हजार यूनिटभन्दा धेरै मोटरसाइकल अनएसेम्बल अवस्थामा भित्रिएको तथ्यांकले देखाएको छ । पछिल्लो समय बजाज, टीभीएस नेपालमा नै एसेम्बल गर्दै आएका छन् भने होन्डा, यामाहा, हिरो, सुजुकी, रोयल इनफिल्ड लगायत विभिन्न ब्राण्डले नेपालमा नै एसेम्बल गर्ने अन्तिम तयारी गरिरहेका छन् ।

भन्सार विभागकको तथ्यांक अनुसार सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर १२५ सीसीसम्मका सेग्मेन्टमा आयात भएको छ ।

नेपालमै एसेम्बल गर्न आउने मोटरसाइकलको संख्यामा भने आर्थिक वर्षको पहिलो महिनाको तुलनामा व्यापक वृद्धि देखिएको छ । साउन महिनामा अनएसेम्बल अवस्थाका ३ हजार ९१० यूनिट मोटरसाइकल आयात भएको देखिन्छ भने भाद्र महिनामा १० हजार यूनिटभन्दा धेरै अनएसेम्बल अवस्थाका मोटरसाइकल आयात भएको छ ।


Back_to_top