टाटाको सबैभन्दा सस्तो इलेक्ट्रीक कार एकै दिन १० हजार यूनिट बुकिङ, यस्ता छन् फिचर

काठमाडौं । टाटा मोटर्सले आफ्नो इलेक्ट्रीक पोर्टफोलियोमा सबैभन्दा कम मूल्य राखेर सार्वजनिक गरेको ह्याचब्याक टियागोको इलेक्ट्रीकले नयाँ रेकर्ड बनाएको छ । टियागो इलेक्ट्रीकले एकैदिन १० हजार यूनिट बुकिङको रेकर्ड राखेको हो ।

टाटा मोटर्सले नेक्सन र टिगोरपछि तेस्रो इलेक्ट्रीक गाडीको रूपमा टियागो लन्च गरेको हो ।

भारतीय बजारमा टियागोको सुरूवाती मूल्य जम्मा ८ लाख ४९ हजार तोकिएको छ । यो मूल्य सुरूको १० हजार गाडीमा मात्र लागू हुने कम्पनीले जनाएको थियो । अक्टोवर १० तारीखमा बुकिङ खुलेको एकैदिनमा १० हजार यूनिट नै बुकिङ भए पश्चात कम्पनीले थप १० हजार कारमा सोही मूल्य लागु हुने जनाएको छ ।

टाटाले टियागोलाई २ ब्याट्री अप्सनमा ल्याएको छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको फरक साइजको ब्याट्री रहनेछ । टियागो ईभीमा एक्सइ र एक्सटी भेरियन्टमा १९.२ किलोवाट आवरको ब्याट्री प्याक रहने छ भने एक्सजेड, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरीमा २४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।

टियागो ईभीमा डीसी फास्ट चार्जीङ पोर्ट समेत रहेको छ । यसमा डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टासम्म लाग्नेछ ।

कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ । तर, यसको बास्तविक रेन्ज २०० किलोमिटर हाराहारी हुनेछ ।

यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टा गतिमा गुड्ने क्षमता राख्छ । टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोडमा उपलब्ध हुनेछ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड रहेको छ ।

टियोगो ईभीमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रूज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

टाटा मोटर्सले टियोगो ईभीको ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ भने अन्य पार्टसमा ३ वर्ष वा १ लाख २५ हजार किलोमीटर सम्मको वारेन्टी दिएको छ ।


Back_to_top