३ लाख ८० हजार मूल्यका दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा, तपाइको रोजाइमा कुन ?

काठमाडौं । बजाजले नेपाली बजारमा १६० सीसी सेग्मेन्टमा नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । यो सेग्मेन्टमा कम्पनीको पोर्टफोलियोमा पहिल्यै एनएस १६० भए पनि कम्पनीले अझै फ्रेस लुक भएको स्पोर्टी मोटरसाइकलको विक्री सुरु गरेको हो ।

कम्पनीले बजाजको एन सिरिज अन्तर्गतको एन १६० नेपालमा सार्वजनिक गरेको हो । यो मोटरसाइकलले नेपालमा उपलब्ध अपाचे आरटीआर १६० फोरको बीएस ६ भर्सनसँग प्रतिस्पर्धा गर्छ ।
१६० सीसी सेग्मेन्टका दुई प्रतिस्पर्धीका बीचमा भएको तुलनात्मक भिन्नतालाई यहाँ केलाएका छौं ।

लुक

अपाचे आरटीआर १६० फोर भी नेपाली बजारमा चर्चित मोटरसाइकल हो । टीभीएसले आरटीआर २०० को लुक दिएको यो मोटरसाइकल स्पोर्टीका साथै यसको फ्रन्ट लुक एकदमै एग्रेसिभ रहेको छ । अपाचे १६० फोर भी नेपाली बजारमा विगत ४ वर्षभन्दा लामो सयमदेखि विक्री भइरहेको छ ।

त्यस्तै, पल्सर एन १६० पनि स्पोर्टी मोटरसाइकल हो । यो मोटरसाइकलको फ्रेस लुकले ग्राहकलाई लोभ्याउन सक्छ । अपाचेको जस्तै यसको फ्रन्ट प्यानल एकदमै एग्रेसिभ रहेको छ भने यो मोटरसाइकल अपाचेभन्दा केही ‘बल्की’ ठूलो देखिन्छ ।

यी दुवै मोटरसाइकल नेकेड स्पोर्ट डिजाइनका मोटरसाइकल हुन् ।

इन्जिन

बजाज पल्सर एन १६० मा १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

त्यसैगरी, अपाचे आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल मोटरसाइकल रहेको छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन रहेको छ । यो इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।
यी दुवै मोटरसाइकल बीएस ६ इन्जिमा रहेका छन् ।

माइलेज

अपाचेमा १२ लिटर र पल्सरमा १४ लिटर क्षमताको इन्धन ट्याङ्क उपलब्ध रहेको छ । यसमा बजाजले २.८ लिटर र टीभीएसले २.५ लिटरको रिजर्भ ट्याङ्क दिएको छ । यी दुवै कम्पनीले आफ्ना मोटरसाइकले ४५ किलोमिटर माइलेज दिने दावी गरेको छन् ।

सस्पेन्सन

यी दुवै मोटरसाइकलमा सस्पेन्सन एकै प्रकारका पाइन्छ । यी दुवैै मोटरसाइकको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

ह्वील तथा ब्रेक

यी दुवै कम्पनीले १७ इन्चको अलाय ह्वील ट्यूवलेस टायर दिएका छन् । त्यस्तै, दुवै मोटरसाइकलको दुवै तर्फ डबल पिस्टन डिस्क ब्रेक दिएका छन् । अपाचे १६० फोरभीको फ्रन्टमा २७० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ भने पल्सर एन १६० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

टीभीएसले सिंगल च्यानल एबीएस दिँदा बजाजले डबल च्यानल एबीएस दिएको छ ।

फिचर

यी दुवै मोटरसाइकलमा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । त्यस्तै, यी दुवैै मोटरसाइकलमा एलईडी हेडल्याम्प तथा डीआरएल पाउन सकिन्छ । त्यसैगरी, साइड स्ट्याण्ड इन्जिन कट सेन्सर, यूएसबी पोर्ट, डबल ब्यारल एक्जष्ट जस्ता फिचर दुवैै मोटरसाइकलमा पाउन सकिन्छ ।
अपाचे आरटीआर १६० फोर भीमा भने कनेक्ट फिचर उपलब्ध रहेको छ ।

मूल्य

नेपाली बजारमा हालै मात्र सार्वजनिक भएको मोटरसाइकल बजाज पल्सर एन १६० को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । बजाजका मोटरसाइकल नेपाली बजारमा हंशराज हुलास चन्द एन्ड कम्पनीले विक्री गर्दै आएको छ ।
त्यस्तै, अपाचे आरटीआर १६० फोरभीको टप भेरियन्ट आरटीएफआई भर्सनको मूल्य बजाजकै समान ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । टीभीएसका मोटरसाइकल जगदम्वा मोटर्सले नेपाली बजारमा विक्री गर्दै आएको छ ।

निष्कर्ष

यी दुवै मोटरसाइकलमा धेरै फिचर समान रहेको छन् भने, मूल्य एउटै रहेको छ । बजाजले फ्रेस लुकको फाइदा लिन सक्छ भने अपाचेले पावर र स्मार्ट कनेन्ट फिचरको फाइदा उठाउन सक्छ । यी दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।


Back_to_top