काठमाडौं । नाडा अटो शो २०१९ को तीन दिन सकिएको छ । आगामी आइतबारसम्म चल्ने अटो शोमा १२ वटा बैंकले कर्जा प्रबाह गर्न निकै तँछाड मछाड गरेका छन् ।
सवारीसाधन किन्न चाहने ग्राहकलाई कर्जा दिने बैंकहरुले अटो शोमा अवलोकनकर्ताको नाम टिपेर ३ महिना भित्र गाडी किन्नेलाई विशेष अफरभन्दै अटो कर्जा दिने बताएका छन् ।
अटो शोमा १२ वटा वित्तीय संस्थाहरुले भाग लिएका छन् । जसमा ११ बाणिज्य बैंक रहेका छन् भने एउटा विकास बैंक रहेको छ । अहिले नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार इलेक्ट्रीक गाडीमा ८० प्रतिशत र कम्बस्चन इन्जिन युक्त गाडीमा ५० प्रतिशतसम्म बैंकहरुले कर्जा प्रबाह गर्ने छन् ।
यस्तोमा अटो शोमा सहभागि हुने कम्पनी र उनीहरुले ल्याएका ब्याजदरलाई हामीले यहाँ उल्लेख गरेका छौं ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले अटो शोलाई मध्यनजर गर्दै विशेष प्रडक्ट ल्याउएको छ । बैंकले १०.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउँने योजना अगाडि ल्याएको छ । बैंकको आधार दर १०.३७ प्रतिशत रहेको छ त्यसमा केही थप गरेर बैंकले कर्जा प्रबाह गर्ने भएको हो । बैंकले सर्भिस चार्ज ०.५ प्रतिशत लाग्ने जनाएको छ ।
लक्ष्मी बैंक
अटो शोमा लक्ष्मी बैंकले इलेक्ट्रीक र ग्यासोलिन कारको लागि छुट्टाछुट्टै ब्याजदर तोकेको छ । बैंकले इलेक्ट्रीक कारमा १०.५ र ग्यासाेलिन कारमा १०.९९ प्रतिशत ब्याजदर अफर गरेको छ ।
अहिले बैंकको आधार दर १०.३१ प्रतिशत रहेको छ । बैंकले सर्भिस चार्ज वापत ०.५ प्रतिशत शुल्क लिने जनाएको छ भने कम्तीमा ३ वर्ष ब्याजदर फिक्स हुने जनाएको छ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले नाडा अटो शोमा अटो कर्जा ५ वर्षको लागि लिनेलाई ९.६ प्रतिशत र ७ वर्षको लागि लिनेलाई १०.१२ प्रतिशत लगाउने जनाएको छ । अहिले बैंकको आधार दर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकले सर्भिस चार्ज भनेर १ प्रतिशत लगाउने जनाएको छ । समग्रमा एभरेष्ट बैंकको अटो कर्जा महंगो रहेको छ ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले सर्भिस चार्ज २ प्रतिशत लाग्ने जनाएको छ । बैंकले अटो लोन ८ देखि १५ वर्षसम्मको लागि उपलब्ध हुने जनाएको छ । बैंकले घोषित ब्याजदर भने ९.५ प्रतिशत रहेको जनाएको छ । अहिले बैंकको आधार दर ९.४८ प्रतिशत रहेको छ ।
नबिल बैंक
नबिल बैंक अत्यन्त कम आधार दर भएको बैंक मध्यको एक हो तरपनि बैंकको अटो कर्जा निकै महंगो रहेको छ । अहिले बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ । तर बैंकले अटो कर्जामा इलेक्ट्रीकलाई ९.५९ र ग्यासोलिनलाई १०.५ प्रतिशत लाग्ने जनाएको छ । साथै, बैंकले सर्भिस चार्ज ०.७५ प्रतिशत लाग्ने जनाएको छ ।
जनता बैंक र ग्लोवल आईएमई
यसपटकको अटो शोमा जनता बैंक र ग्लोवल आइएमई बैंकले समान ९.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएका छन् । यी दुई बैंक बीच मर्जर हुन लागेकाले दुबै बैंकले कर्जाकोदर समेत एउटै ल्याएका हुन् । जनता बैंकको आधार दर ९.९५ प्रतिशत रहेको छ भने ग्लोवल बैंकको ९.५ प्रतिशत रहेको छ । यी बैंकले ७ वर्षको लागि कर्जा उपलब्ध गराउने छन् ।
हिमालयन बैंक
हिमालयन बैंक पनि आक्रमक अटो कर्जा स्कीम ल्याएको छ । बैंकको आधार दर ९.०५ प्रतिशत रहेकोमा अटो कर्जा ९.९५ प्रतिशत ब्याजदरमा ल्याएको हो । बैंकले सर्भिस चार्ज ०.५ प्रतिशत लिने जनाएको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूको आधार दर ९.९८ प्रतिशत रहेको छ । बैंकले ग्राहकलाई अटो शो अफरभन्दै ११.४८ प्रतिशत ब्याजदरमा कर्जा अफर गरेको छ । बैंकले सर्भिस चार्जपनि एक प्रतिशत लाग्ने जनाएको छ । यसरी हेर्दा अटो शोकै सबैभन्दा महंगो कर्जा बैंक अफ काठमाण्डूको रहेको छ ।
सिभिल बैंक
सबैभन्दा बढी आधार दर भएरपनि सिभिल बैंकको कर्जा धेरै राम्रा बैंकको तुलनामा उत्कृष्ट रहेको छ । अहिले बैंकको आधार दर ११.११ प्रतिशत छ । बैंकले नाडा अटो शोमा विशेष अफरको रुपमा आधारदर ११.११ प्रतिशतमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । साथै, ०.५ प्रतिशत मात्रै सर्भिस चार्ज लिने बैंकले जनाएको छ ।
बैंकले यसका अलावा इएमआई समयमा बुझाउने ग्राहकलाई दिइएको यो ब्याजदरमा कुनै परिवर्तन नगर्ने जनाएको छ । बैंकले उक्त कर्जा ७ वर्षको लागि उपलब्ध गराउने छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
सधै गाडी कर्जा कम मूल्यमा उपलब्ध गराउँदै आएको स्टायडर्ड चार्टड बैंकले ९.३९ प्रतिशत ब्याजदरमा कर्जा अफर गरेको छ । बैंकको आधार दर ७.६३ प्रतिशत रहेको छ । बैंकका अनुसार आधारदरसँगै बैंकको ब्याजदरमा परिवर्तन हुने छ । बैंकले सर्भिस चार्जको रुपमा ०.७५ प्रतिशत लाग्ने जनाएको छ ।
सानिमा बैंक
सानिमा बैंकको आधार दर ९.३४ प्रतिशत रहेको छ । बैंकले अटो शो अफर भन्दै १०.४९ प्रतिशत ब्याजदर अफर गरेको छ । साथै, बैंकले ९ वर्षसम्मको लागि अटो लोन उपलब्ध गराउने र ०.७५ प्रतिशत सर्भिस चार्ज लिने जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंक नाडा अटो शो २०१९ मा सहभागी हुने एक मात्र विकास बैंक हो । उसको आधार दर ११.६६ प्रतिशत रहेको छ । बैंकले आधार दरमै लोन अफर गरेको छ । ७ वर्षको लागि अटो लोन दिने र त्यसको लागि सर्भिस चार्ज १ प्रतिशत लाग्ने बैंकले जनाएको छ ।


