अटो शोमा इलेक्ट्रीक बाइक तथा स्कुटरमा अवलोकन कर्ताको भिड

काठमाडौं । भदौ १० बाट सुरु भएको नाडा अटोशोको चौधो संस्करणमा २३ चारपाङ्ग्रे र १९ दुइपाँग्रे सवारी बिक्रेता कम्पनीले आ–आफ्ना मोडल प्रदर्शनीमा राखेका छन् । बिगतका वर्षभन्दा यो वर्ष, अटोशोमा इलेक्ट्रीक सवारी प्रदर्शनी तथा बिक्रीमा राख्ने कम्पनीको संख्या निक्कै बढेको  छ । बाइकमा रुची राख्ने त्यसमा पनि इलेक्ट्रीक सवारीको अनुभव बुटल्न चाहने अवलोकनकर्ताको संख्या ह्वात्तै बढेको इभी बिक्रेता कम्पनी बताउँछन् ।

अटोशोमा योमा मा इ, एनआइयु, सुपर सोको, मियामा लगायतका दुइपाँग्रे कम्पनीले इलेक्ट्रीक बाइक र स्कुटर प्रदर्शनीमा राखेका छन् । अवलोनकर्ताको निक्कै भिड लागेको योमा माइ इको स्टलमा बाइक बुकिङ्ग गरिहाल्ने भन्दा पनि इलेक्ट्रीक बाइकबारे बुझ्न चाहानेको संख्या बढि देखिएको छ ।

स्टलमा बाइक नियालीरहेका बेदनाथ गौतम, इलेक्ट्रीक बाइक वातावरणमैत्री मात्रै नभई कम खर्चालु हुने विश्वास व्यक्त गर्छन् । गौतम भन्छन ‘इन्धनबाट चल्ने बाइकभन्दा इलेक्ट्रीक बाइकको खर्च तुलनात्मक रुपमा कम  हुन्छ  । कम खर्चालु भएकै कारण इलेक्ट्रीक बाइक किन्ने सोच बनाएको हुँ ।’

स्टलमा इलेक्ट्रीक बाइक अवलोकन गरिरहेका अर्का अवलोकनकर्ता सन्दिप श्रेष्ठको पनि उस्तै बुझाइ छ । इलेक्ट्रीक बाइकबारे आवश्यक जानकारी लिएपछिमात्रै  निश्कर्षमा पुग्ने उनले बताए । 

योमा माई ग्रुपले जिनियस नामक चिनियाँ ब्रान्डका स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका व्यवस्थापक सन्जिप शिल्पकारले अप्रत्यासित रुपमा अवलोकनकर्ताको भिड लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।

‘हामीले अपेक्षा गरेको भन्दा बढि अवलोकनकर्ताको भिड लागेको छ । बुकिङ्ग गरिहाल्ने ग्राहकको संख्या भने उत्ति छैन । यद्यपी, अवलोकनकर्ताको मनशाय बुझ्दा इभीप्रतिको आकर्षण निक्कै बढेको पाएका छौं’ शिल्पकारले भने ।  

ग्रुपले एलटी १५१२, एक्सएन–१२३२ इलेक्ट्रीक स्कुटर र डब्ल्यु–५४, एक्सवाइ–३४, एक्सवाइ–५४, डब्ल्यु–३४, डब्ल्यु–५४, पी–३४, एक्स–५४ इलेक्ट्रीक बाइक प्रदर्शनी तथा बिक्रीमा राखेको छ ।

अवलोकनकर्ताको भिड लागेको अर्काे कम्पनी, दिग्रो ग्रुपको स्टलमा हो । जहाँ सुपर शोको सियु प्लस, सियुएक्स, सियुएक्स डुकाटी एडिशन गरि तीन इलेक्ट्रीक स्कुटर र टिसी, टिसी म्याक्स इलेक्ट्रीक बाइक प्रदर्शनीमा राखिएको छ  । 

नयाँ इलेक्ट्रीक स्कुटर एनजिटीसँगै, एम सिरीज, एन सिरीज र यू सिरीजका स्कुटरको प्रदर्शनी तथा बिक्री गर्दै आएको एनआइयूको आधिकारीक बितरक इको इन्फिनीटीले पछिल्लो समय विशेषत युवापुस्तामा इभी प्रतिको आकर्षण बढ्दै गएको निश्कर्ष निकालेको छ ।

मियामाका लागि नेपालको आधिकारीक वितरक मियामा मोटर्स प्राइभेट लिमिटेडले लिथियम आयन ब्याट्री युक्त वाइवाइ जेड –८ डी,  सिजेवाइ– १ को एल वाइ –१, जेवाइ– १, टिएन –६  प्रदर्शनी तथा बिक्रीमा राखेको छ । 

यी लगायत अटोशोमा आफ्ना मोडल बिक्री तथा प्रदर्शनीमा राखेका अधिकांश दुइपाँग्रे इलेक्ट्रीक सवारी बिक्रेता कम्पनीले इभी प्रति ग्राहकको रुचि ह्वात्तै बढेको बताएका छन् । 


Back_to_top