अटो फ्याक्टस्ः यस्तो छ सडक निर्माण बजेट, एक्स्प्रेस हाईवेदेखि सुरुङसम्म

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको अनुमानीत बजेट सार्वजनिक गरेको छ । उक्त सार्वजनिक भएको बजेटमा यातायात क्षेत्रको सडक पूर्वाधार निर्माणको लागि सबैभन्दा धेरै १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

उक्त रकमबाट सरकारले मुख्य राजमार्गलाई एक्सप्रेस हाईवेको रूपमा विकास गर्ने, रेल आयोजनाको सम्भाव्यता अध्ययन थाल्ने र व्यस्त राजमार्गमा सुरुङ बनाउनेजस्ता कार्य गर्ने उल्लेख गरेको छ । 

निजी क्षेत्रकोसमेत सहभागितामा पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने घोषणासमेत बजेटले गरेको छ ।

सरकारले घोषणा गरेको बजेटमा आगामी वर्षदेखि नौबिसे–नागढुंगा सडकखण्डमा सुरुङमार्ग, टोखा–छहरे–गुर्जेभन्ज्याङ सडक खण्डमा सुरुङ मार्ग निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरेको अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटमा उल्लेख छ । 

यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः ५० अर्बको आयातमा ५२ अर्ब भन्सार कर, कुन सेग्मेन्टबाट कति उठ्यो ?

त्यसैगरी, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड, वीपी लोकमार्गको खुर्कोट–चियाबारी र थानकोट–चित्लाङखण्डमा सुरुङ मार्ग निर्माणको अनुसन्धान गरि काम सुरु गर्ने उल्लेख गरिएको छ । 

वीरगञ्ज–काठमाडौं र बर्दिवास–सिमरा रेलमार्ग र रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको डीपीआर तयार गरी निर्माण सुरु गर्ने घोषणा बजेटले गरेको छ । 

बजेटमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गर्ने, काठमाडौं निजगढ द्रूतमार्ग, मध्यपहाडी लोकमार्गका लागि विशेष बजेटको व्यवस्था गरिएको छ । 

झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म निर्माण गर्ने भनिएको मदन भण्डारी राजमार्गलाई मेची नगरपालिकाको पाटापुरसम्म विस्तार गर्ने घोषणा बजेटले गरेको छ । यो राजमार्ग निर्माणका लागि ४ अर्ब ५० करोड रुपैयाँ पहिलो वर्ष नै छुट्याइएको छ । किमाथांका–रानी सडक र रसुवागढी–गल्छीदेखि चितवनको ठोरीसम्मको सडकको मुख्य काम सम्पन्न गर्ने घोषणा बजेटमा गरिएको छ ।

निजी क्षेत्रकोसमेत सहभागितामा पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने घोषणासमेत बजेटले गरेको छ । आगामी वर्ष मेची–महाकाली विद्युतीय रेलमार्गका लागि काँकडभिट्टा–बर्दिवास, बुटवल–गड्डाचौकीको सम्भाव्यता अध्ययन गर्ने बजेटमा घोषणा गरिएको छ ।

त्यसैगरी, यातायात व्यवस्थापनका लागि सरकारले १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यो पनी पढ्नुस्ः अटो फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ?

हवाई यातायातको पूर्वाधार निर्माणको लागि १९ अर्ब ३५ करोड विनियोजन गरिएको छ । जसबाट गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल, निजगढ विमानस्थल निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सरकारको पहिलो प्रथमिकतामा रहेको बजेटमा उल्लेख छ । 

साथै, यो बजेटबाट साना विमानस्थलको स्तरोन्नति र काभ्रेमा डोमेस्टीक विमानस्थलको सम्भाब्यता अध्यन गर्ने उल्लेख छ । 

अन्तःशुल्क बढ्यो

बजेटले सवारीसाधनमा लाग्ने अन्तशुल्कमा भारी वृद्धि गरेको छ । यसअघि कारमा ६० प्रतिशत लाग्दैआएको अन्तःशुल्क १०० प्रतिशतसम्म पुर्याइएको छ भने बाइकमा लाग्दैआएको ४० प्रतिशत अन्तःशुल्कलाई ६० प्रतिशतसम्म पुर्याइएको छ । 

तर, १५० सीसीसम्मको मोटरसाइकल र १००० सीसीसम्मको कारमा अन्तःशुल्क लगाइएको छैन । 

बढ्यो सडक दस्तुर

सरकारले कारका सीसीको आधारमा सडक दस्तुरको वृद्धि गरेको छ भने मोटर साइकलमा पनि भारी सडक दस्तुर वृद्धि गरेको छ । कारको मूल्यको १० प्रतिशतसम्म सडक कर लगाइएको छ । यसअघि २० हजार सडक कर लाग्दैआएका बाइकमा एक्कैपटक २ लाख बनाइएको छ । सामान्य १५० सीसीसम्मका बाइकमा पनि ३३ प्रतिशतले सडक कर बढाइएको छ ।

यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ ।


Back_to_top