काठमाडौं । नेपालमा सर्वाधिक गाडी विक्री गर्ने कम्पनीहरु हुन्डाई, मारुती सुजुकी, टाटा, निसान, रेनो जस्ता कम्पनीले चाडपर्वको समय पारेर ग्राहक लक्षित योजना संचालन गरिरहेका छन् ।
करिब एक महिनाअघि देखिनै सबै कम्पनीले स्कीम दिइरहेका छन् । केही वर्षअघिसम्म दशैंको समयमा आफुसँग स्टकमा रहेका गाडी विक्री गर्न भन्दै कम्पनीहरुले ठूला गाडीमा १० देखि २० लाख रुपैयाँसम्म छुट घोषणा गर्ने गरेका थिए ।
कोभिड १९ संक्रमणको कारण गाडी उत्पादनमा नै समस्या देखिएपछि अहिले गाडी विक्रेता कम्पनीसँग स्टकमा कुनै पनि गाडी नहुने अवस्था सृजना भएको छ । यही कारण अघिल्लो दशैंमा पनि कम्पनीहरुले ठूलो रकम नगद छुटको घोषणा गरेनन् ।
यसवर्षको अवस्था झनै फरक पर्यो । विश्वव्यापीरुपमा भएको सेमी कन्डक्टरको सर्टेजले गाडी उत्पादकले उत्पादन नै कटाए । त्यसको असर नेपालमा पनि देखियो । अहिले बजारमा चल्तीका गाडीहरु हुन्डाई क्रेटा, किया सोनेट, मारुती सुजुकी ब्रेजा, महिन्द्रा स्कर्पियो, टाटा नेक्सन जस्ता मोडल ग्राहकले छनोट बमोजीम किन्न पाएनन् ।
गाडी सप्लाईमा समस्या देखिएपनि कम्पनीहरुले केही नगद छुट र एक्सचेन्ज बोनस भने घोषणा गरेका छन् । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो गाडी किन्ने ग्राहकलाई ‘फेस्टीभ डिलाइट २०७८’ नामक योजना दिइरहेको छ ।

कम्पनीले ल्याएको चाडपर्व केन्द्रित योजनामा ग्राहकले १ लाखदेखि ३ लाखसम्मको नगद छुट, स्क्र्याच कार्ड मार्फत १ लाखसम्मको अतिरिक्त छुट, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा सुविधा र बम्पर उपहारमा हुन्डाई नयाँ जेनेरेशन आई २० एकजनालाई दिने घोषणा गरेको छ ।
त्यसैगरी टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ‘यसपालीको दशैं तिहार, टाटाका सेफेस्ट कार’ योजना दिएको छ । यस योजनामा कार किन्ने ग्राहकलाई २ लाखसम्म नगद छुट, आकर्षक एक्स्चेन्ज अफर, निःशुल्क जेनुइन एसोशरिज, निःशुल्क स्वामित्व ट्रान्सफर सुविधा, १ वर्षको वार्षिक कर, डेलिभरी लिँदा स्पेशल गिफ्ट ह्याम्पर, ३ वर्षको वारेन्टी र निःशुल्क सर्भिस सेवा उपलब्ध गराउने जनाएको छ ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ स्कीम संचालन गरिरहेको छ । यस योजनामा ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउने छन् ।

निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले ‘निसान फस्टीभ ड्राइभ’ स्कीम संचालन गरिरहेको छ । कम्पनीले ३ लाख ५२ हजारसम्मको फाइदा ग्राहकलाई दिएको जनाएको छ । जसमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, एक वर्षको सवारी साधन कर, ३ वर्षको निःशुल्क सर्भिस सुविधा ग्राहकले पाउने छन् ।
रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले ‘शुभ कार–रम्भ’ स्कीम संचालन गरिरहेको छ । कम्पनीले रेनोका कार किन्ने ग्राहकलाई तीन लाखसम्मको फाइदा दिने उल्लेख गरेको छ । तर, उसले आकर्षक नगद छुट, १ वर्षको बीमा, एक वर्षको सवारी कर र ५ वर्षसम्मको वारेन्टी दिने उल्लेख गरेको छ ।

होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले ‘फेस्टीभ बोनान्जा’ स्कीम संचालन गरिरहेको छ । यस स्कीमा २ लाखसम्म नगद छुट, १ वर्षको बीमा, एक वर्षको सवारी कर, ३ वर्षसम्म निःशुल्क सर्भिस, ७ प्रतिशत पार्टस्मा छुट र निःशुल्क एशोसरीज दिने जनाएको छ ।
फक्सवागेनले सहज मासिक किस्ताको अफर गरेको छ । फक्सवागेनले विभिन्न उपहार दिने जनाएको छ । प्रोटोनले ‘प्रोटोन कार–दक्षिणा’ स्कीम दिइरहेको छ । कम्पनीले २ लाख ५० हजारसम्म नगद छुट, २ लाखसम्मको एक्सचेन्ज बोनस,एक वर्षको बीमा, एक वर्षको सवारी कर जस्ता छुट ग्राहकलाई प्रदान गरिरहेको छ ।
डिएफएसकेले पनि ग्राहकलाई आकर्षक अफर गरेको छ । कम्पनीले ४ लाखसम्मको नगद छुट, एब वर्षको सवारी कर र १० लाख डाउन पेमेन्टमा नै गाडी दिने अफर गरेको हो । ग्रटवालले ६ लाखसम्म फाइदा दिने स्कीम संचालन गरिरहेको छ ।
धेरै कम्पनीले स्कीम ल्याएपनि टोयोटा, महिन्द्रा, किया, एमजी, जीप जस्ता ब्राण्डले कुनै स्कीम संचालन गरेका छैनन् ।

