एमजी इजेडएसमा व्यापक परिमार्जन, दुई व्याट्री अप्सनमा आउने, रेञ्ज पनि धेरै

काठमाडौं । एमजी इजेडएसमा व्यापक परिमार्जन हुने भएको छ । सन् २०२२ बाट बजारमा आउने एमजी इजेडएसको फेसलिफ्ट मोडलमा दिइएको व्याट्रीको साथ केही कस्मेटिक परिमार्जन गरिएको हो ।

एमजीले अहिले विक्री गरिरहेको इजेडएसमा ४४.५ किलोवाट क्षमताको व्याट्री उपलब्ध रहेको छ । तर, कम्पनीले फेसलिफ्ट मोडलमा ५१ र ७२ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिएको छ । नयाँ व्याट्रीले यूरोपियन चिसो कन्डिसनमा पनि ४३७ किलोमिटर रेञ्ज दिने कम्पनीको दावी छ ।

यसमा दिइएको ७२ किलोवाट आवरको व्याट्रीलाई ७ किलोवाट क्षमताको चार्जरले चार्जगर्दा १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने छ भने १०० किलोवाट क्षमताको डिसी चार्जरले ४२ मिनेटमा फुल चार्ज हुने कम्पनीले जानकारी दिएको छ ।

एसियाली कन्डिसनमा ५१ किलोवाट आवरको व्याट्रीले ४१५ किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ । अहिले नेपाली बजारमा आईरहेको ४४.५ किलोवाट आवरको स्थानमा ५१ किलोवाट आवरको व्याट्री सहित नयाँ कार नेपाल आउने अनुमान गर्न सकिन्छ ।

एमजीले नयाँ जेडएसको क्याविनमा वायरलेस चार्जर दिने छ । अहिले रहेको ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमको ठाउँमा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध हुनेछ ।

आई स्मार्ट कनेक्टीभीटी, भेरियस क्लाइमेट कन्ट्रोल फिचर, भेहिकल सुरक्षा फिचर जस्ता नयाँ प्रविधि यसमा ग्राहकले पाउने छन् । नयाँ इजेडएसमा अगाडिको डिजाइनमा फरकपन पाउन सकिन्छ । यसअघि रेगुलर कारको जस्तै लाग्ने ग्रिल फेसलिफ्टमा हटाइएको छ । स्लीम हेडल्याम्प, नयाँ डिजाइनको अलोय ह्वील र कलर अप्सनमा परिमार्जन हुनेछ ।

 


Back_to_top