काठमाडौं । सब फोर मिटर एसयूभीको दौडमा निसान मोटर्स पनि छिट्टै सामेल हुने भएको छ । कम्पनीले ल्याउने सब कम्प्याक्ट एसयूभी ‘बेबी किक्स’को नामले भारतीय मिडियामा चर्चामा आएको हो । यसकाे मूल्य किक्सभन्दा कम रहने छ ।
हालको अटो बजारमा दबदबा रहेको मारुती सुजुकी भिटारा ब्रेजा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु, महिन्द्राको एक्सयुभी–३००, फोर्डको इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्नको लागि निसान मोटर्सले सब कम्प्याक्ट एसयूभीको टिजर सार्वजनिक गरेको हो ।
कम्पनीले यो एसयूभी सन् २०२० को मध्यसम्म बजारमा उतार्ने अनुमान गरिएको छ । निसानका अनुसार यो गाडी नयाँ प्ल्याटफर्म सिएफएम–ए-प्लस मा निर्माण हुनेछ ।
टिजरमा देखाइए अनुसार निसानको नयाँ सब कम्प्याक्ट एसयूभी निसान किक्स जस्तै देखिएको छ । यसमा किक्सको जस्तै फ्ल्ओटिङ सिल्भर कलरको रुफरेल दिएको छ । यसको पछाडि पट्टी त्रिकोणात्मक क्वाटर ग्लासको प्रयोग गरिएको देखिएको छ । यसमा रियर स्पोइलर समेत रहेको छ । यो एसयूभीमा कम्पनीले तीन सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिएको अनुमान गरिएको छ ।
निसानको पर्टनर कम्पनी रेनोले केहीअघि नै आफ्नो ब्राण्डमा सब कम्प्याक्ट एसयूभी ल्याउने घोषणा गरेको थियो । एचबीसी कोडनेम दिइएको उक्त यसयूभी छिट्टै बजारमा आउने अनुमान गरिएको छ ।

