बजाजका मोटरसाइकल किन्न ५ वर्षसम्म ऋण पाइने, ब्याजदर पनि घट्यो

काठमाडौं । बजाजका मोटरसाइकल खरिद गर्न अब ५ वर्षसम्म ऋण सुविधा पाइने भएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्य गर्दै सहज फाइनान्सिङ सुविधा उपलब्ध गराएको हो।

कम्पनीले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन उक्त नयाँ योजना ल्याएको हो । यस योजना अन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना)को किस्ताबन्दी सुविधा पाइने भएको छ ।

यस व्यवस्थासँगै मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकहरूका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस योजनामा ऋणको अवधि बढाउनुका साथै ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरेको छ । यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुनेछ । नयाँ फाइनान्सिङ व्यवस्था अनुसार प्लाटिना १०० ईएस अब मासिक २१२४ रुपैयाँ किस्ताबन्दीमै पाइने छ । दैनिक रुपमा हिसाब गर्दा ७१ रुपैयाँ किस्ता तिरे पुग्छ । यसअघि मासिक ३,२५५ रुपैयाँ किस्ता पर्थ्यो । ग्राहकले हरेक महिना करिब १,१३१ रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, डोमिनार ४०० मासिक ५,३७० रुपैयाँ किस्तामै पाइने भएको छ । यसअघि ८,२२७ रुपैयाँ तिर्नुपर्थ्यो ।

त्यसैगरी, पल्सर १२५, पल्सर एन १२५, पल्सर १५०, पल्सर एन १५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २०० एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत सम्पूर्ण मोडेलमा पनि मासिक किस्ता उल्लेख्य रूपमा घटाइएको छ । जसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेट अनुसार मोटरसाइकल छनोट गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना हो ।

मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै बजाजले ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ ।

एचएच बजाजका अनुसार ग्राहकको सुविधालाई केन्द्रमा राखेर गरिएको यस निर्णयले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन मद्दत गर्नेछ । कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

हुलास फिनसर्भ मार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका बजाजका शोरुमहरूबाट लिन सकिने कम्पनीले जनाएको छ ।


Back_to_top