चीनको प्रभुत्व बढ्दै जाँदा युरोप दबाबमा, विश्व अटो उद्योगमा नयाँ तस्वीर

काठमाडौं । सन् २०२६ को आधाभन्दा बढी समय बितिसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा अटोमोबाइल उद्योगको उत्पादनमा सामान्य गिरावट आउने देखिएको हो ।

विश्वभर मोटरगाडी तथा पार्टपुर्जाको उत्पादन सन् २०२६ मा ०.२ प्रतिशतले घट्ने प्रक्षेपण भएको हो । व्यापारमा संरक्षणवादी नीति, विद्युतीय सवारीको बिक्रीमा हस्तक्षेप र उपभोक्ताको कमजोर खरिद क्षमताले विश्वका अधिकांश प्रमुख बजारमा अटो उत्पादन प्रभावित हुने देखिएको छ ।

यस वर्षपनि चीनले विश्व अटो बजारको वृद्धिलाई निरन्तर नेतृत्व गर्ने अपेक्षा गरिएको छ । युरोपका उत्पादकहरू कमजोर माग, बढ्दो उत्पादन लागत तथा अतिरिक्त उत्पादन क्षमताको दबाबमा पर्ने अनुमान छ ।

फेब्रुअरीदेखि जारी खाडी क्षेत्रको युद्धले विश्वभर ऊर्जा मूल्य बढाएको र उपभोक्ताको विश्वास कमजोर भएको देखिन्छ । तेलको मूल्यमा आएको उतारचढावसँगै उपभोक्ताको वास्तविक आम्दानीमा परेको असरका कारण नयाँ गाडीजस्ता महँगा वस्तुको माग अझै कमजोर बन्दै जाने देखिन्छ ।

भूराजनीतिक तनावले अटो उद्योग थप जोखिममा

अहिलेसम्म बाहिर आएका विभिन्न अध्ययन प्रतिवेदनले विश्व अटो उद्योग अहिले भूराजनीतिक तनाव र व्यापारिक नीतिको सबैभन्दा बढी असर पर्ने उद्योगमध्ये एक बनेको छ । विश्वव्यापी आपूर्ति सञ्जालमा आधारित अटो उद्योगले पछिल्ला वर्षहरूमा व्यापार युद्ध, आयात शुल्क र आपूर्ति अवरोधको चुनौती झेलिरहेको हामीले देखेका छौं ।

यसको उदाहरणका रूपमा सन् २०२५ मा चीनले दुर्लभ खनिज (रियर अर्थ मेटेरियल) को निर्यातमा कडा नियन्त्रण गर्ने घोषणा गरेको विषयलाई लिन सकिन्छ । चर्को दबाबपछि उक्त निर्णय केही खुकुलो बनाइयो । उक्त घटनाले पश्चिमा अटो उत्पादकहरू चीनका दुर्लभ खनिजमा अत्याधिक निर्भर रहेको यथार्थ उजागर गरेको थियो ।

चीनले निर्यात गरेका दुर्लभ खनिजहरू विद्युतीय मोटर, सेन्सर, पावर स्टेयरिङ, रिजेनेरेटिभ ब्रेकिङलगायत सिस्टम निर्माणमा प्रयोग हुन्थ्यो । साथै, विद्युतीय कारका लागि निकै महत्वपूर्ण मानिने दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धले विश्व अटो उद्योगको आपूर्ति श्रृखलामा ठूलो अवरोध सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ ।

चीनको यो क्षेत्रमा रहेको प्रभुत्व छोटो अवधिमा अन्त्य हुने सम्भावना नरहेको र बेइजिङले रणनीतिक लाभ कायम राख्ने विश्लेषण गरिएको छ ।

ईभी बजारमा क्षेत्रअनुसार फरक अवस्था

अमेरिकामा सरकारले विद्युतीय सवारी खरिदमा दिँदै आएको कर छुट हटाएपछि ईभी बिक्रीमा दबाब परेको छ । युरोपमा पनि ईभीको माग अपेक्षाकृत सुस्त गतिमा बढिरहेको छ ।

चीनमा भने विद्युतीय सवारीको विस्तार तीव्र गतिमा जारी छ । यद्यपि, पहिलेको जस्तो बलियो वृद्धि चनिमा पनि छैन । अमेरिका र युरोपेली संघले चिनियाँ ईभीमाथि अतिरिक्त भन्सार शुल्क लगाएपछि निर्यातमा केही चुनौती थपिएको थियो । त्यसको असर कम गर्न वैकल्पिक बाटो खोज्ने काममा चिनियाँ उत्पादकहरू निरन्तर सक्रिय छन् ।

यस्ता चुनौतीका बाबजुद सन् २०३० सम्म विश्वभर बिक्री हुने लाइट भेहिकलमध्ये हाइब्रिड र विद्युतीय सवारीको हिस्सा ५९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् २०२० मा यो हिस्सा केवल १० प्रतिशत मात्र रहेको थियो । यसले आगामी वर्षहरूमा विश्व अटो उद्योग क्रमशः विद्युतीकरणतर्फ तीव्र रूपमा अघि बढ्ने संकेत गरेको छ ।

नेपालको बजार स्थिर रहने अनुमान

नेपाली औषतमा वार्षिक १३ हजारदेखि १६ हजार युनिटको बीचमा रहने बजार हो । सन् २०२६ मा १६ हजार युनिट आसपासको बजार रहने हाम्रो अनुमान छ ।

जनवरीदेखि जुन महिनासम्मको आयात झण्डै ७ हजार युनिट छ । अबको चार महिना गाडी बिक्रीको हिसाबले सबैभन्दा धेरै हुने महिनामा पर्छ । ठूला चाडपर्वमा धेरै गाडी बिक्री हुने हुँदा सन् २०२६ मा सजिलै १५ हजार युनिट पुग्ने अनुमान गर्न सकिन्छ । ग्यासोलिन कारको आयात भने यो वर्ष नराम्रोसँग घटेको छ । ईभीको बजार हिस्सा भने निरन्तर वृद्धि हुँदै गएको छ ।


Back_to_top