एमजी हेक्टर टेस्ट ड्राइभ : बजेट फ्रेण्डली ठूलो एसयूभी

काठमाडौं । ‘मेरोअटो ग्राउण्ड रियालिटी चितवन’को आधिकारिक ट्रान्सपोर्ट पार्टनरको रूपमा एमजी हेक्टर हामीले प्रयोग गरेका थियौं । काठमाडौं-हेटौंडा-चितवन र सोही बाटो हुँदै काठमाडौं फर्केपछि यसको टेस्ट ड्राइभ अनुभव यहाँ साझा गर्न लागिएको हो ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने एसयूभी सेग्मेन्ट ४ मिटरदेखि ४.४ मिटर हो । तर, एमजी हेक्टर ४.७ मिटर लामो एसयूभी हो । जुन मूल्यका आधारमा ४.४ मिटरकै पेट्रोल एसयूभीको हाराहारीमा किन्न पाइन्छ ।

जीओ अटोमोबाइल्सले नेपालमा बिक्री गर्ने एमजी हेक्टर एसयूभी फराकिलो क्याबिन, धेरै फिचर र आकर्षक मूल्यकै कारण बलियो मानिन्छ । तर, पछिल्ला दिनमा ईभीको बिक्री उच्च रहँदा पेट्रोलबाट चल्ने एसयूभीहरूलाई कठिन बन्दै गएको छ ।

हामीले उकालो, ओरालो, कच्ची, घुम्ती, सिधा सबै किसिमका बाटामा हेक्टर चलाएका थियौं । त्यही आधारमा केही मुख्य कुरा यहाँ प्रस्तुत गरेका छौं ।

झट्ट बाहिरबाट हेर्दा बलियो

अगाडि प्रयोग भएको ठूलो क्रोम ग्रिलले गाडीलाई बलियो देखाएको छ । स्प्लीट एलईडी हेडल्याम्प, मोडहरूमा प्रयोग हुने इन्टेलिजेन्ट इन्डिकेटरले रातिको समयमा हेक्टर चलाउन निकै सहज हुन्छ ।

यसमा रहेको १८ इन्चको अलोय ह्वील, क्रोम विन्डो लाइन र ठूलो बडीले यसलाई सडकमा छुट्टै पहिचान दिन्छ । पछाडिको एलईडी लाइटबार र नयाँ डिजाइनको टेलगेटले गाडीलाई आधुनिक बनाएको छ ।

प्रिमियम क्याबिनको अनुभव

हेक्टरको सबैभन्दा बलियो पक्ष यसको क्याबिन हो । नयाँ १४ इन्चको टचस्क्रीनले ड्यासबोर्डको स्वरूप नै बदलिदिएको छ । वायरलेस एण्ड्रोइड अटो र एप्पल कारप्ले सहज रूपमा चलाउन सकिन्छ ।

एमजीको भ्वाइस असिस्टेन्ट नेपाली प्रयोगकर्ताका लागि उपयोगी फिचर हो । सनरुफ खोल्ने, एसी चलाउने वा अन्य कमाण्ड आवाजबाटै दिन सकिन्छ । यसले ड्राइभिङका बेला स्क्रीनमा धेरै समय खर्च गर्नुपर्दैन ।

सिटहरू चौडा र आरामदायी छन् । अगाडिका भेन्टिलेटेड सिटले गर्मीमा राम्रो अनुभव दिन्छ । पछाडिको सिटमा तीन जना वयस्क आरामसँग बस्न सक्छन् । रिक्लाइनिङ ब्याकरेस्ट, समथर फ्लोर र पर्याप्त लेगरुमले लामो यात्रामा यात्रुलाई थकान महसुस हुँदैन ।

ठिक्कको पवार

हामीले टेस्ट ड्राइभ गरेको र नेपालमा बिक्रीको लागि उपलब्ध हेक्टरमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन थियो । त्यसमा सीभीटी गियरबक्स भएका कारण चलाउन थप सजिलो थियो । यसले १४३ हर्सपावर र २५० न्युटन मिटर टर्क उत्पादन गर्छ ।

सहरको ट्राफिकमा गाडी चलाउन निकै सजिलो लाग्छ । एक्सेलेरेटरको प्रतिक्रिया राम्रो छ । सामान्य ओभरटेकमा कुनै समस्या छैन । तर, तीव्र एक्सेलेरेशन गर्दा टर्बो ल्याग महसुस हुन्छ ।

सडकमा यस्तो थियो

हेक्टर आरामदायी यात्राका लागि बनेको एसयूभी हो । सस्पेन्सन सफ्ट भएकाले सामान्य खाल्डाखुल्डी र स्पीड ब्रेकर सहज रूपमा पार गर्छ । हाईवेमा स्थिरता राम्रो छ ।

तर, तीव्र मोडमा केही बडी रोल महसुस हुन्छ । स्टेयरिङ पनि हल्का भएकाले स्पोर्टी ड्राइभिङ मन पराउनेलाई यो गाडी धेरै रोमाञ्चक नलाग्न सक्छ ।

यद्यपि, परिवारसँग लामो यात्रा गर्ने, आरामलाई प्राथमिकता दिने र दैनिक प्रयोगका लागि भने हेक्टर निकै उपयुक्त विकल्प देखिन्छ । यात्रु र सामान थपिँदा यसको राइड क्वालिटी अझ राम्रो महसुस हुन्छ ।

प्रविधि र सुरक्षामा अब्बल

टप भेरियन्टमा प्यानोरामिक सनरुफ, पावर्ड टेलगेट, वायरलेस चार्जर, अटो हेडल्याम्प, अटो वाइपर, इन्फिनिटी साउण्ड सिस्टम, एयर प्युरिफायर, ३६० डिग्री क्यामेरा लगायतका सुविधा छन् ।

सुरक्षातर्फ ६ एयरब्याग, ईएससी, ट्र्याक्सन कन्ट्रोल, टीपीएमएस र चार चक्कामा डिस्क ब्रेक भएकाले चालकको आत्मविश्वास बढ्छ ।

यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको एडास हो । एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र फरवार्ड कोलिजन वार्निङले लामो हाइवे यात्रालाई निकै सहज बनाउँछ ।

नेपालको स्पष्ट लेन भएका सडकमा यी प्रणाली प्रभावकारी देखिए पनि लेन मार्किङ कमजोर भएका सडकमा भने कहिलेकाहीँ निष्क्रिय हुन्छन् ।

निष्कर्ष

एमजी हेक्टर गति वा स्पोर्टी ह्याण्डलिङ खोज्ने ग्राहकका लागि बनेको एसयूभी होइन । यसको वास्तविक शक्ति, फराकिलो क्याबिन, उत्कृष्ट कम्फर्ट, आधुनिक प्रविधि र प्रिमियम फिचरमा छ ।

यदि तपाईंको प्राथमिकता परिवारसँग आरामदायी यात्रा, ठूलो इन्टेरियर, आधुनिक टेक्नोलोजी र सुरक्षामा केन्द्रित छ भने हेक्टर आफ्नो सेग्मेन्टको बलियो एसयूभी हो ।


Back_to_top