काठमाडौं । नेपालमा अहिले विद्युतीय कार (ईभी)को वर्चश्व छ । पछिल्लो समय कुल आयत हुने कारमा ईभीको हिस्सा करिब ७० प्रतिशतसम्म पुगेको छ । यद्यपि, चालु आवमा भने पेट्रोल कारको हिस्सा केही बढेर करिब ४० प्रतिशत पुगेको छ ।
सरकारले दिएको कर छुटका कारण मूल्य सस्तो हुँदा र हाइटेक फिचरका कारण उपभोक्ता ईभी कारप्रति आकिर्षत भएका छन् । हाल नेपालमा ४ दर्जन बढी ब्राण्डमा ईभी कार उपलब्ध छन् । यद्यपि, चार्जिङ पूर्वाधारको अभाव, कम रेन्जका कारण अझै भरपर्दो विकल्प भने बन्न सकेको छैन ।
ईभी निर्विकल्प बन्न नसक्दा पेट्रोल कारप्रति पनि आकर्षण कायमै रहेको देखिन्छ । जुनसुकै ठाउँमा पनि सजिलै पुग्न सक्ने र ढुक्कले यात्रा गर्न सक्ने भएकाले उपभोक्ताले महँगो मूल्य तिरेर पनि पेट्रोल कार किन्ने गरेका छन् ।
सन् २०२५ को साढे १० महिना (जनवरी १-नोभेम्बर १५)मा कुल १३ हजार ८१७ युनिट कार आयात भएको छ । तीमध्ये पेट्रोल कारको संख्या ३ हजार ५९५ युनिट छ ।
ईभीको दबदबाकै बीच केही पेट्रोल कारले भने बजारमा आफ्नो प्रभुत्व कायमै राख्न सफल भएका छन् । यहाँ हामीले सन् २०२५ को साढे १० महिनामा ‘सब-फोर मिटर एसयूभी’ सेग्मेन्टमा सर्वाधिक आयात भएका चार पेट्रोल कारको चर्चा गरेका छौं ।
१. मारुती सुजुकी ब्रेजा : सन् २०२५ मा सब फोर मिटर एसयूभी’ सेग्मेन्टमा सबैभन्दा धेरै मारुती सुजुकीको ब्रेजा आयात भएको छ । साढे १० महिनामा नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले कुल ४७२ युनिट ब्रेजा आयात गरेको छ । जसमा ३७६ युनिट हाइब्रिड र १३३ युनिट आइस रहेका छन् ।

जापानी ब्राण्ड सुजुकीको भारतमा उत्पादन भएको ब्रेजा नेपाल आउँछ । ब्रेजामा १.५ लिटरको के १५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स छ ।
त्यस्तै, नेपालमा माइल्ड हाइब्रिड सिस्टमको ब्रेजा उपलब्ध छ । जसमा १.५ लिटरको के १५ सी डुअल जेट, डुअल भीभीटी पेट्रोल इन्जिन छ । जसले १०३.०५ पीएस पावर तथा १३६.८ न्युटन टर्क प्रदान गर्छ । यसमा इन्टिग्रेटेड स्टार्टर जेनेरेटर प्रयोग गरिएको छ । जसले इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट र ब्रेक इनर्जी रिजेनेरेसन गर्न सहयोग पुर्याउँछ ।
नेपाली बजारमा रेगुलर ब्रेजाको सुरूआती मूल्य ४७ लाख ९ हजार र टप भेरियन्टको मूल्य ६६ लाख २९ हजार रुपैयाँ छ ।
२. किया सोनेट : यस वर्ष दोस्रो धेरै आयात हुने पेट्रोल कारमा कोरियाली ब्राण्ड कियाको सोनेट रहेको छ । कन्टिनेन्टल ट्रेडिङ साढे १० महिनामा ३३९ युनिट सोनेट नेपाल ल्याएको छ ।

नेपालमा किया सोनेट पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ । पेट्रोल भर्सन १.२ लिटरको नेचुरल्ली एस्पिरेटेड इन्जिन र डिजेल भर्सन १.५ लिटरको सीआरडीआइ इन्जिन छ । पेट्रोल इन्जिनले ८२ हर्स पावर र ११५ न्युटन टर्क दिन्छ भने डिजेल इन्जिनले १०० हर्स पावर र २४० न्युटन टर्क प्रदान गर्छ ।
नेपालमा किया सोनेट ४ भेरियन्टमा बिक्री हुँदै आएको छ । जसमा बेस भेरियन्टको सुरूवाती मूल्य ३७ लाख ९० हजार रुपैयाँ र टप भेरियन्ट जीटीएक्स प्लसको मूल्य ५९ लाख ९० हजार रुपैयाँ छ ।
३. हुन्डाई भेन्यू : साढे १० महिनामा धेरै आयात हुने पेट्रोल कारमा कोरियाली ब्राण्ड हुन्डाई भेन्यू रहेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इनटरकन्टिनेटल ३३६ युनिट भेन्यू आयात गरेको छ । कम्पनीले सीकेडी ल्याएर हाल नेपालमै भेन्यु एसेम्बल गर्दै आएको छ ।

भेन्यु दुई इन्जिन क्षमतामा उपलब्ध छ । जसमा १.२ लिटर फोर सिलिण्डर र १.० लिटर थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध छ । जसले क्रमशः ८३ पीएस तथा ११३.८ न्युटन र १२० पीएस पावर तथा १७२ न्युटन टर्क प्रदान गर्छ ।
नेपालमा हुन्डाई भेन्यूको ४ भेरियन्ट किन्न पाइन्छ । यसको बेस भेरियन्ट ‘ई’को मूल्य ४१ लाख ९६ हजार रुपैयाँ र टप भेरियन्ट (एस अप्सनल डीसीटी)को मूल्य ५९ लाख ९६ हजार रुपैयाँ छ ।
४. निसान म्याग्नाइट : यस वर्ष जापानी ब्राण्ड निसानको एसयूभी म्याग्नाइट चौथो धेरै आयात भएको छ । एसपीजी अटोमोबाइल्स म्याग्नाइट यस अवधिमा २४८ युनिट म्याग्नाइट नेपाल ल्याएको छ ।
निसान म्याग्नाइटमा १.० लिटरको थ्री सिलिण्डर पेट्रोल इन्जिन छ । यसले ९२ हर्स पावर तथा ९६ न्युटन टर्क प्रदान गर्छ ।

नेपाली बजारमा निसान म्याग्नाइटको विभिन्न १५ भेरियन्ट उपलब्ध छ । जसमा सुरूवाती भेरियन्टको मूल्य ३५ लाख ७५ हजार रुपैयाँ र टप भेरियन्टको ५३ लाख ९९ हजार रुपैयाँ छ ।


