भक्तपुरको ट्राफिक व्यवस्थापनमा सरोकार वालाको चासो

भक्तपुर । ‘भक्तपुर नगर क्षेत्रमा शान्ति सुरक्षा, भारी गाडी निषेध तथा ट्राफिक व्यवस्थापन’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर शान्ति सुरक्षाको हिसाबले क्रमशः जोखिमयुक्त बन्दै गएको बताए ।

उनले विभिन्न अपराधिक गतिविधि सँगसँगै लागु औषधको दुव्र्यसनी बढ्दै जानु चिन्ताजनक भएको बताउँदै समाजमा रहेका समुदायका नगारिकहरु सचेत भई स्थानीय प्रशासन तथा नगरपालिकाको समन्वय, सहकार्य र सहयोगबाट भक्तपुर नगरलाई सुरक्षीत नगर बनाउन सहयोग गर्नुपर्ने बताए ।

नगरप्रमुख प्रजापतिले नगरभित्र भारी सवारी साधन निषेध गर्ने, कमजोर सडक निर्माण गर्ने ठेकेदारलाई कारवाही गर्ने, सडक किनारामा सामान बेचबिखन गर्ने व्यवसायीलाई कारवाही गर्ने, सम्पदा क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाउने विनियमहरु बनाई कार्यान्वयन गर्ने जानकारी दिए ।

भक्तपुर नगरको सुन्दरता कायम गर्न अव्यवस्थित तार व्यवस्थापन, पार्किङ स्थलहरु निर्माण तथा नगरभित्र दुव्र्यसनी लगायत कुलतमा फसेका १६ वर्ष मुनिका बालबालिकाहरुको लागि सुधार गृह स्थापनका लागि समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको उनको दाबी थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सामाजिक अपराधका घटनाहरुलाई कम गर्दै जनतालाई सुरक्षाको प्रत्याभूति गराई जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न स्थानीय तहहरुले संस्थागत रुपमा छाता निकायको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी उपरिक्षक सबिन प्रधानले सडक सुरक्षा सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुँदै समुदाय–प्रहरी सहकार्यबाट नगरभित्र हुने अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहज हुने जानकारी दिए ।

उक्त छलफलबाट भक्तपुर नगरपालिकाको पुरानो नगर क्षेत्रभित्र ट्रिपर लगायत भारी सवारी साधन निषेध गर्ने र मिनि ट्रिपरलगायत मझौँला सवारी साधन निश्चित समय बेलुका ६ बजेदेखि विहान ८ बजेसम्म संचालन गर्न दिने, भक्तपुर नगरपालिकाको पुरानो सम्पदा बस्तीभित्र भारी सवारी साधन संचालन निरुत्साहित गर्न सरोकारवालाहरुसँग छलफल गर्दै जाने जस्ता विषयमा छलफल गरिएको थियो ।


Back_to_top