काठमाडौं । सन् २०२५ जनवरी १७ तारिखबाट सुरु हुने भारत मोबिलिटी एक्स्पोमा भारतमा आधा दर्जन विद्युतीय कार सार्वजनिक हुने भएको छ । भारतमा आफ्नो उत्पादन बलियो बनाउँदै लगेका ब्राण्डहरूले नयाँ विद्युतीय कार सार्वजनिक गर्ने भएका हुन् ।
विशेषगरी भारतकै सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक मोडल ई-भिटारा एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले मार्चबाट बिक्री सुरू गर्ने योजनासहित ई-भिटाराको प्रोडक्सन मोडल देखाउन लागेको हो ।
भारतीय कार बजारमा दोस्रो स्थान ओगट्दै आएको हुन्डाई पनि आफ्नो भारतमा उत्पादन हुने पहिलो इलेक्ट्रीक मोडल क्रेटा सार्वजनिक गर्नेछ । कम्पनीले सार्वजनिक गर्ने पहिलो मोडल धेरैहदसम्म अहिले बिक्री हुँदै आएको फेसलिफ्ट क्रेटासँग मिल्दोजुल्दो हुनेछ ।
भारत मोबिलिटी एक्स्पोमा भारतीय ब्राण्ड टाटा र महिन्द्राले पनि आफ्नो नयाँ इलेक्ट्रीक मोडल देखाउने छन् । विशेषगरी टाटाले ह्यारियर र सिरिया मोडलको इलेक्ट्रीक भर्सन लन्च गर्ने अनुमान गरिएको छ । यी दुवै एसयूभी विभिन्न समयमा परीक्षण भइरहेका तस्वीरहरू मिडियामा आइरहेका छन् ।
महिन्द्राले पनि दुई इलेक्ट्रीक एसयूभी एक्स्पोमा देखाउने छ । कम्पनीले ब्याट्री इलेक्ट्रीक मोडल ‘बीई-६ ई र एक्सईभी-९ई’ मोडल सार्वजनिक गर्नेछ । यी दुई मध्ये एक्सईभी-९ई चाँडै बजारमा बिक्रीको लागि उपलब्ध हुनेछ । भारत मोबिलिटी एक्स्पोभन्दा पहिला चेन्नाईमा नोभेम्बर २६ मा हुने ‘अनलिमिटेड इन्डिया’ कार्यक्रममै यी दुई मोडल प्रदर्शनी हुनेछन् ।
भारत मोबिलिटी एक्स्पोमा कति ब्राण्डले भाग लिँदैछन् भन्ने एकीन जानकारी बाहिर आएको छैन । तर, झण्डै ५ लाख मानिसले अवलोकन गर्ने उक्त एक्स्पो न्यू इनर्जी भेहिकलमय बन्ने पक्का जस्तै देखिन्छ । बाँकी एक्स्पोमा सहभागी ब्राण्डहरूले पनि ईभीलाई प्राथमिकतामा राख्ने पक्का जस्तै छ ।