काठमाडौं । चेरीले विश्वको सबैभन्दा ठूलो ब्याट्री प्लान्ट लगाउने भएको छ । कम्पनीले लगाउने पहिलो गिगावाट लेभलको प्लान्टमा सोलिड स्टेट ब्याट्री उत्पादन हुने भएको हो ।
चिनियाँ अटोमोवाइल ग्रुप चेरीले अनहुइ प्रान्तको उहु इकोनोमीक तथा टेक्नोलोजीकल डेभलपमेन्ट जोनमा ब्याट्री प्लान्ट लगाउन लागेको हो । यस प्रोजेक्टको पहिलो फेजमा १ लाख स्क्वायर मिटरको क्षेत्रफल प्रयोग हुनेछ ।
चेरीले नयाँ ब्याट्री प्लान्ट एक्लै भने बनाउन लागेको होइन । नयाँ प्लान्टमा चेरी ग्रुप अन्तर्गतको अनहुइ अन्वा न्यू इनर्जी कम्पनी लिमिटेड, जीपीएससी थाइल्याण्ड, अजेवा जापान र गोसन हाइटेक मिलेर साझेदारीमा प्लान्ट लगाउन लागेका हुन् ।
उक्त प्रोडक्सन साइटमा ५ गिगावाट आवरको सोलिड स्टेट ब्याट्री आरएण्डडी सेन्टर र हाइ इन्ट्रीग्रेटेड अटोमेटेड प्रोडक्सन लाइन तयार हुनेछ । परम्परागत ब्याट्रीभन्दा सोलिड स्टेट ब्याट्रीहरु सेफ, वातावरणमैत्री र हाइ इनर्जी डेन्सीटी भएका हुनेछन् ।
पहिलो जेनेरेशनको सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सीटी २८० वाटआवर प्रतिकेजी रहनेछ । सन् २०२५ मा आउने सेकेण्ड जेनेरेशनको इनर्जी डेन्सीटी ४०० वाटआवर प्रतिकेजी हुने र सन् २०२७ मा लन्च हुने तेस्रो जेनेरेशन ब्याट्रीमा ५०० वाटआवर प्रतिकेजी हुने कम्पनीले दावी गरेको छ ।
कम्पनीका अनुसार उक्त प्रोडक्सन लाइन केही महिना भित्रै संचालनमा आउने छ । कम्पनीको दावी मान्ने हो भने नयाँ टेक्नोलोजीका ब्याट्री उत्पादनको प्रक्रिया ११ बाट ५ मा झर्नेछ ।