बीएमडब्लू आई फोर इलेक्ट्रीक, फुल चार्जमा झण्डै ६ सय किमि रेन्ज

काठमाडौं । जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले इलेक्ट्रीक सेडान कार बजारमा उतार्ने भएको छ । कम्पनीले भारतीय बजारमा सार्वजनिक गर्न लागेको ‘बीएमडब्लू आई फोर’ पूर्ण इलेक्ट्रीक कार हो ।

बीएमडब्लूले भारतमा विक्री सुरु गर्न लागेको अल इलेक्ट्रीक मोडल रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ । नेपाली बजारमा पनि बीएमडब्लू आफ्नो इलेक्ट्रीक कार सार्वजनिक गर्ने तयारीमा जुटेको छ । सबै कुरा ठिक तरिकाले अगाडि बढेको खण्डमा आगामी दशैं–तिहारको समयमा बीएमडब्लूका इलेक्ट्रीक कार नेपाली बजारमा उपलब्ध हुनेछ ।

भारतीय बजारमा विक्री भएको ‘आई फोर’ नेपाल आउँछ वा आउँदैन भन्न सकिने अवस्था छैन । यद्यपि भारत र नेपालमा राइट ह्याण्ड ड्राइभ सिस्टममा गाडी भएको कारण आउन सक्ने संभावना भने रहन्छ ।

बीएमडब्लू आई फोर इलेक्ट्रीक सेडान कार भएको कारण भने नेपाल आउने विषय निकै कठिन हुने देखिन्छ । निकै ठूलो ८३.९ किलोवाट आवरको ब्याट्री उपलब्ध आई फोरमा २५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा यसले ५९० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

कम्बस्चन इन्जिन युक्त गाडीको जस्तै लाग्ने फ्रन्ट फेसिका आइ फोरमा रहेको छ । यो कारको लम्बाई ४७८३ एमएम, चौडाई १८५२ एमएम र उचाई १४४८ एमएम रहेको छ । यसमा २८५६ एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

बीएमडब्लू लग्जरी कार उत्पादन कहलिएको ब्राण्ड हो । यस्तोमा कम्पनीले आइ फोरमा दिएका सबै फिचर प्रिमियम रहेका छन् ।


Back_to_top