यस्तो देखियो नयाँ जेनेरेशन पल्सर, पहिलेभन्दा स्पोर्टी

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाज अटोको उत्पादन नयाँ जेनेरेशन पल्सर परिक्षणको क्रममा देखिएको छ । बजाज अटोको प्लान्ट रहेको पूणेको चकन स्थित प्लान्ट नजिकै देखिएको नयाँ जेनेरेशन पल्सर १२५ वा पल्सर १५० कुन हो भन्ने एकिन गर्न कठिन भएको अटोकार इन्डियाले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

परिक्षणको क्रममा देखिएका यो मोटरसाइकलमा प्रयोग भएका धेरै पार्टस् पल्सर १२५ को समान छ भने, बजाजको नयाँ जेनेरेशन पल्सर एफ २५० र एन २५० बाट पनि धेरै लिइएको छ । यसमा प्रयोग भएको एयर कुल्ड इन्जिन भने छुट्टाउन सकिन्छ । एयर कुल्ड इन्जिन भएको कारण सानो सीसीको मोटरसाइकल हो भन्न सकिन्छ ।

यसमा रहेको स्प्लीट सिट एफ २५० जस्तै देखिन्छ भने यसको फ्यूल ट्याङकको एज एन २५० को जस्तो देखिन्छ । साथै, मोटरसाइकलको फ्रन्ट डिस्क ब्रेक पनि अहिले विक्री भइरहेको पल्सर १२५ को भन्दा केही ठूलो छ भने २५० सिरिजको भन्दा सानो देखिन्छ ।

यसको साइड लुक भने एन २५० जस्तै छ । हेडल्याम्प पनि एफ २५० को जस्तै देखिन्छ । त्यसैले यसलाई नयाँ जेनेरेशन पल्सरको १२५ र १५० मध्ये कुनै एक हुनसक्ने अनुमान गरिएको छ ।

बजाजले यो मोटरसाइकल स्पोर्टी बनाउन कुनै कसर बाँकी राखेको छैन । यसको बेली प्यानल र विन्ड स्क्रिनले यसलाई स्र्पोटी लुक प्रदान गरेको छ ।

परिक्षणमा देखिएको नयाँ मोडलले बजारमा बहस सुरु गराएको छ । धेरैले यसलाई १२५ को नयाँ जेनेरेशन भनेका छन् भने, केहीले नयाँ मोडल हुन सक्ने आशंका ब्यक्त गरेका छन् । किनभने केही दिन अघिमात्र कम्पनीले दुई नयाँ मोडलको पेटेन्टसमेत दर्ता गरेको थियो ।


Back_to_top