अन्य ब्राण्डले मूल्य घटाउँदा बीएमडब्लूले बढायो २ लाख ५० हजार !

काठमाडौं । बीएमडब्लू मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले २ लाख ५० हजार रुपैयाँसम्मले मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।

कम्पनीले ल्याएको २०२३ मोडलका मोटरसाइकलहरुमा भारतबाट नै मूल्य बढेर आएका कारण मोटरसाइकलको मूल्य बढेको कम्पनीको भनाइ छ ।

तर, सरकारले करमा दिएको छुटको कारण अधिकांश कम्पनीले आफ्ना ठूला साइजको मोटरसाइकलमा मूल्य घटाएका हुन् ।

कम्पनीले नयाँ मोडल जी ३१० आरआरको समेत मूल्य सार्वजनिक गरेको छ । कम्पनीले जी ३१० आरआर पहिलो पटक नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले जी ३१० आरआरको सुरुवाती मूल्य १६ लाख रुपैयाँ निर्धारण गरेको छ । यसको टप भेरियन्टको मूल्य भने १६ लाख २५ हजार रहेको कम्पनीले जनाएको छ ।

बीएमडब्लूले ३०० सीसीभन्दा माथिका मोटरसाइकल विक्री गर्दै आएको छ । सरकारले ल्याएको नयाँ बजेटले २५० सीसीभन्दा माथिका मोटरसाइकलमा सडक दस्तुर ३० हजार रुपैयाँले कम गरेको थियो । त्यस्तै नेपालमा त्यसको अन्तःशुल्कमा ९० प्रतिशत लाग्दै आएकोमा घटाएर ६० प्रतिशत बनाइएको छ । यसका बाबजुद पनी कम्पनीले मूल्य बृद्धि गरेको हो ।

बीएमडब्लू मोटरसाइकलको लागि आधिकरिक वितरक हिमालयन मोटोरार्डले बीएस ६ भर्सन जी ३१० आरको १३ लाख ७५ हजार र जी ३१० जीएसको मूल्य १४ लाख ७५ हजार रुपैयाँमा कायम गरेर बिक्री गर्दै आएको थियो ।

कम्पनीले २०२३ भर्सन आएसँगै जी ३१० आरको मूल्य १५ लाखदेखि १५ लाख २५ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । त्यस्तै जी ३१० जीएसको सुरुवाती मूल्य १७ लाख र टप भेरियन्टको मूल्य १७ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको हो ।


Back_to_top