काठमाडौं । महिन्द्राको निकै सफल एसयूभी बोलेरोको नाममा कम्पनीले अर्को मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो यो चर्चित नाम बोलेरोमा नियो थप गरेर जुलाई १५ अर्थात् आगामी बिहिवार नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको हो ।
महिन्द्रा बोलेरो नेपालका पहाडी क्षेत्रमा निकै सफल मोडल हो । पहाडी बाटोको राजा उपनाम पाएको बोलेरो नियो पहिलेको मोडलभन्दा निकै फरक देखिएको छ ।
महिन्द्राका गाडी नेपालमा अग्नी ग्रुप अन्तर्गतको अग्नी इनकर्पोरेट प्रालिले विक्री वितरण गर्दै आएको छ । नयाँ मोडल नियो पनि भारतमा सार्वजनिक भएको केही महिनापछि नेपाल आउने अनुमान गर्न सकिन्छ । यस्तोमा नयाँ मोडलमा के कस्ता परिवर्तन भएका छन् भन्ने बारे यहाँ चर्चा गरिएको छ ।
१. बाहिरी बनोट
ठ्याक्कै भन्नु पर्दा बोलेरो नियो बोलेरोको नयाँ जेनेरेशन मोडल नभएर टियूभी ३०० को नयाँ जेनेरेशन मोडल हो । नयाँ मोडलमा पहिलेको टियूभी ३०० को तुलनामा धेरै परिवर्तन पाउन सकिन्छ ।
नयाँ हेडल्याम्प, अगाडिको बम्पर, १५ इन्चको अलोय ह्वील, पछाडि टेलगेटमा दिइएको स्पेयर टायर जस्ता परिमार्जन देख्न सकिन्छ । साथै, गाडीको डिजाइनमा प्रयोग भएका फरक फिचरले यसलाई बोल्ड बनाएको छ ।
२. भित्रको डिजाइन
नयाँ मोडलमा भित्रको अधिकांश फिचर पहिलेकै टियूभी ३०० कै प्रयोग भएको छ । ड्यासबोर्ड, टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, सिट लगायतका फिचरलाई निरन्तरता दिइएको छ । यसमा नयाँ इन्ट्रुमेन्ट क्लष्टरको प्रयोग गरिएको छ भने पछाडिको सिटमा आर्मरेष्ट थप गरिएको छ ।
३. इन्जिन
महिन्द्राले अहिलेसम्म यसमा प्रयोग भएको इन्जिनको विषयमा जानकारी दिएको छैन । यद्यपी यसमा १.५ लिटर टर्बो डिजेल इन्जिनको प्रयोग भएको अनुमान गरिएको छ । उक्त इन्जिनले १०० पीएस पावर र २४० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्स उपलब्ध रहने छ ।

